मंगलबार, वैशाख २५, २०८१

संस्कारी नाति

दिनेश यादव २०७९ जेठ २२ गते १३:११

हजुरआमा बिहानै खाटबाट उठेपछि भनिन्,
‘भोलवा नाति ! लुकमानको दोकानबाट एक बट्टा लैला बिँडी ल्याई देऊ न… । बुबासँग पैसा लिएर जानु है ।’
नाति ,’ हस् हजुरआमा ।’
त्यसपछि भोलवा आफ्नो बुवा नसिबालाई खोज्दै पुरनी महार (पोखरी)सम्म पुग्छन् । त्यहॉ नसिबाले मैदान (शौच गर्नु) गरेर भर्खरै पञ्छुआ लिई दाँत माँझ्न नजिकैको बाँस झ्याङमा कर्ची खोज्दै थिए ।
भोलवा,’ बुबा ! हजुरआमालाई एक डिब्बा बिँडीको पैसा दिनु न ।
नसिबा, ‘छोरा, मसँग अहिले बटुवा (बगली) छैन । म सुत्ने घरको मोख माथि तम्बाकूको बटुवा छ, त्यसैमा चानचुन पैसा छ, लिई दोकान जानू ।’
भोलवा घर फर्केर बटुवा खोज्न थाले, तर फेला पार्न सकेनन् ।

हजुरआमाले उसलाई देखेपछि तगेदा गरिन्,’ खोई, ल्याएनौं बिँडी भोलबा नाति ?’

नाति, ‘पैसा पाइँनँ हजुरआमा, बुबा मैदान जानुभएको छ । त्यता भेटेर आको, उहॉले भनेको ठाउॅमा बटुवा भेटिनँ , पैसा त्यसैमा छ रे !’
-हजुरआमा,’ भोलवा नाति ! भन्साघरको ठेक (धान राख्ने सानो भखारी) बाट कोनियॉ ( बाॅसको कप्टेराबाट बनेको सामग्री) मा धान निकालेर पसल पुगेर ल्याई देऊ न बिँडी ।’

भोलवा नातिले आफ्नी आमा बोलबेचनीसंग यो कुरा भन्न पुग्छन् । #बोलबेचनीले बुढी हजुरआमालाई सत्तोसर्राप्दै भन्न थाल्छिन,’ यी बुढिया मरे पनि हुने, यिनलाई बिहानै बिहान बिँडी चाहिने…, हेर ! मेरो छोरालाई दु:ख दिएको ..! कमाउने केही होइन, बसि-बसि खाने,अझ ठेककै धान यिनलाई चाहिने ….!’

-हजुरआमा बुहारीको सबै गन्थनमन्थन र सत्तोसर्राप मौनता साथ सुनिरहेकी थिईन । तिनका आँखा रसाई सकेको रहेछ । सहास गर्दै भनिन,’ एक डिबा बिँडीका लागि तिमीले मलाई कत्ति गालि गर्छ्यौ । मैले आर्जेकै सम्पत्तिमा तिमी रजाई गर्छ्यौ…. । भो-भो चाहिएन तिम्रो धान…..!’

भोलवा नातिले हजुरआमा र आमाबीचको संवाद दरबज्जामा रहेको बकेनमा(दूध दिने) भैंसीको लाॅधीमा बसेर चुपचाप सुनेका थिए । भित्रभित्रै हजुरआमाप्रति दयाभाव र आफ्नी आमाप्रति विद्रोहको भाव उनीमा प्रवेश गरिसकेको रहेछ । त्यो घटना लगत्तै आमाले अर्हाएको काममा उसले अटेरी गर्नु र हजुरआमाको छेउमा गई भलाकुसारी गर्नुले त्यसको थोरबहुत पुष्टि गरिरहेको थियो । उत्ता बोलबेचनी अझै पनि शान्त हुन सकेकी थिईनन् । सासुप्रतिको उनको विषवमन जारी थियो । त्यसैबीच नसिबा आईपुग्छन् । #नसिबा, ‘के भयो भोलवाको आमा तिमीलाई ? बिहानै-बिहान किन बप्पराहैर (चिच्चाउनु) गरिरहेकी छ्यौं ।’

बोलबेचनी ,’ यो बुढिया(सासु) र मुनसबा (लोग्ने) मिलेर मलाई मार्न खोज्दै छन् (रूदैं) ।’

नसिबा,’ के भयो भन न, भोलवाको आमा ?’

बोलबेचनी,’तिम्रो आमाले तिम्रो छोरालाई ठेकको धान चोर्न सिकाउॅदै छिन । यो बुढिया मरे हुने नि ….!’

नसिबा,’ हो आमा! बोलबेचनीले भनेको कुरा सहि हो ?’

भोलवा हजूरआमाको काँखमा बसेका थिए । नसिबाले आफ्नी बुढी आमासंग गरेको प्रश्नपछि भोलवा हजूरआमाको कपाल सुम्सुमाउन थालेका थिए ।

हजुरआमा (रूँदै),’ म फूलसरी आफ्नो नातिलाई चोरी गर्न किन सिकाउनु, छोरो ? एक डिबा बिँडीको लागि यत्रो गंजन सुन्नु पर्यो । तिम्रो बेमाइन बुबाले मलाई यस्तै दिन हेर्नका लागि छोडेर गए…! हे भगवान मलाई लैजाऊ …! ‘

भोलवा नसिबाको नजिक पुग्छन् । भन्छन,’ मेरी आमा झुठो बोलिरहनु भएको छ । तपाईको बटुवा नभेटेपछि हजुरआमाले ठेकको थोरै धान निकालेर लुकमान दोकानबाट बिँडी ल्याउन भन्नु भएको मात्र हो । यो कुरो मैले आफ्नी आमासंग गएर भन्दा उहाँ हजुरआमालाई गाली गर्न थाल्नु भएको हो ….।’

-नसिबा, ‘ भोलवा आमा ! तिमी यो सानो कुरामा यत्रो बबण्डर किन मच्चाएकी ? भो-भो तिललाई पहाड नबनाऊ । बरू जलखोई (बिहानको नास्ता) लगाऊ, झहुरा हटियाबाट मल किन्न जानुछ , रवि फसल (हिउॅदमा लगाईने अन्नवाली) लाई मल हाल्ने बेला भै’सको ।’
यसैबीच, नसिबाले बटुवाबाट पैसा झिकेर भोलवालाई दिएछन् । भोलवा दौडेर पसल गई हजुरआमाका लागि बिँडी ल्याई दिएछन् ।

-हजुरआमालाई बिँडी दिनु अघि उसले एउटा सर्त तेर्साएछन्- ‘हजुरआमा ! मैले भनेको एउटा कुरा मान्नुहुन्छ ? अनि मात्रै तपाईंलाई बिँडी दिन्छु (हजुरआमालाई अंकमाल गर्दै) ।’

-हजुरआमा,’ भन न नाति! तिमीले भनेको कुरा मान्छु ।’

भोलवा,’ तपाईले मान्नु हुन्न, मलाई थाहा छ ।’

हजुरआमा, ‘ मान्छु,मान्छु, मेरो नातिले भनेको कुरा मान्छु, क्या ! अब त भन न …!

भोलवा ,’हजुरआमा ! तपाईले बिँडीका लागि यत्रो गञ्जन सहनु पर्यो । यो शरीरका लागि हानिकारक पनि छ, तपाईको स्वास्थ्य पनि यसले बिगार्छ । त्यसैले बिँडी खान छाड्नुस । यो डिबा सकेपछि मलाई बिँडी ल्याउन कहिले भन्नु हुन्न भन्ने बाचा गर्नुस् ।’

-हजुरआमा एकैछिन मौन बसिन् र भनिन्, ‘हुन्छ, नाति मैले अबदेखि बिँडी खान छाडें । बरू पसल जाऊ र यो बिँडीको डिब्बा साटेर चकलेट लिएर आऊ । हामी दुई मिलेर खाउँला ।’

प्रतिक्रिया