शनिबार, वैशाख २७, २०८२

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ असार १४ गते १५:५८

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक करोड दुई लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार फरार प्रतिवादी विनोद लामा भन्ने ४३ वर्षीय विनोद घिसिङलाई काठमाडौंको जोरपाटीबाट मंगलबार पक्राउ गरिएको हो ।

रामेछापको सुनपाती गाउँपालिकमा ४ स्थायी घर भई हाल काठमाडौंको जोरपाटी बस्ने विनोदले मेगा बैंकको बौद्ध शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । उनले आफ्नो खातामा मौज्दात रकम नहुँदा पनि जानी–जानी झुक्यानमा पारेर दिएको चेकको रकम भुक्तान नभएको जाहेरीवालाको दाबी छ । सोअनुसार उच्च अदालत पाटनले गरेको र बैंकिङ कसुरका थप तीन मुद्दामा २०७८ पुस २७ गते फैसला गर्दै प्रतिवादी घिसिङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम २१ दिन कैद र एक करोड दुई लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

फैसलापछि फरार भएका घिसिङलाई सीआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले पक्राउ गरेको हो । सीआईबीले फैसला कार्यान्वयनका लागि मंगलबारै काठमाडौं जिल्ला अदालतमा पेस गरेको सीआईबीले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया