शनिबार, वैशाख २२, २०८१

पेट्रोल र डिजेलका गाडी कुन देशमा कहिले सम्म गुड्छ ?

नेपालखोज २०७९ चैत १६ गते ८:५०

काठमाडाैं । युरोपेली संघले सन् २०३५ सम्ममा जीवाश्म इन्धनमा चल्ने सवारी साधनको बिक्री पूर्ण रूपमा बन्द गर्ने सम्झौता पारित गरेको छ ।

हेरौं कुन-कुन देशले जीवाश्म इन्धनमा चल्ने सवारीलाई पूर्ण रूपमा बन्द गर्नेछन् ?

युरोपेली संघका २७ देशबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धनमा चल्ने सवारी साधनलाई पूर्णरुपमा बन्द गर्ने सम्झौता भएको छ । त्यसपछि युरोपका सडकमा विद्युतीय सवारी मात्र चल्न पाउनेछन् ।

नर्वे सबैभन्दा अगाडि

पेट्रोल, डिजेल आदिबाट चल्ने सवारी साधनलाई सडकबाट हटाउने कुरामा नर्वे सबैभन्दा अगाडि छ । सन् २०२५ देखि त्यहाँ विद्युतीय ब्याट्री वा हाइड्रोजनबाट चल्ने सवारी साधन मात्र बिक्री हुनेछन् । नर्वेमा सन् २०२२ मा कुल कार बिक्रीको ८० प्रतिशत विद्युतीय सवारी साधन थिए ।

बेलायत, इजरायल तथा सिंगापुर

यी तीन देश सन् २०३० सम्ममा इन्टरनल कम्बसन इन्जिन (आईसीई) गाडीको बिक्री पूर्ण रूपमा बन्द गर्न चाहन्छन् । बेलायतमा नयाँ ‘ग्रिन औद्योगिक क्रान्ति’को योजना बनिरहेको छ, जसअन्तर्गत हजारौं रोजगारी सृजना भैरहेको छ ।

चीन र भारतको अवस्था

विद्युतीय सवारी साधन निर्माणमा चीन अन्य देशभन्दा अगाडि छ । सयौं कम्पनीले त्यहाँ विद्युतीय कार बनाउँदै आएका छन् । विश्वको सबैभन्दा ठूलो प्रदूषक चीन २०३५ सम्ममा धेरैजसो ICE सवारी साधन फेज आउट गर्न चाहन्छ । यद्यपि त्यहाँ २०२५ सम्ममा कुल बिक्रीको २० प्रतिशत मात्र विद्युतीय गाडि हुने अनुमान छ । भारतमा कारको बिक्री अझै बढ्ने सम्भावना छ । प्रदूषणसँग लड्दै भारतले सन् २०३० सम्ममा देशको कुल कार बिक्रीको ३० प्रतिशत विद्युतीय बनाउने लक्ष्य राखेको छ ।

संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड, स्वीडेन र आयरल्याण्ड

अमेरिकी राष्ट्रपति जो बाइडेनको जलवायु योजना अन्तर्गत सन् २०३० सम्ममा बिक्री हुने कारमध्ये आधाले शून्य कार्वन उत्सर्जन गर्ने लक्ष्य राखिएको छ । यो लक्ष्यमा हाइब्रिड कारहरू पनि समावेश छन् जसमा पेट्रोल वा डिजेल इन्जिनका साथै ब्याट्रीका गाडि पनि छन् । नेदरल्याण्ड, स्वीडेन र आयरल्याण्डको लक्ष्य बाँकी युरोपको तुलनामा बढी महत्वाकांक्षी छ । युरोपेली संघको सदस्य भए पनि उनीहरुले सन् २०३० सम्ममा आ-आफ्नो मुलुकबाट आईसीई सवारीसाधनको बिक्री पूर्णरुपमा बन्द गर्ने लक्ष्य राखेका छन् ।

जापान

जापान कारको ठूलो उत्पादक हो । टोयोटा हाइब्रिड कारको हिसाबले विश्वकै सबैभन्दा ठूलो कार कम्पनी हो । यसका बावजुद, २०२२ मा जापानको कुल कार बिक्रीको १.७ प्रतिशत मात्र इलेक्ट्रिक कार थिए। सरकारले सन् २०३० सम्ममा सडकबाट आइस गाडी हटाउन चाहेको भएपनि हाइब्रिड कार भने यसमा समावेश गरिएको छैन् ।

चिली

चिली विश्वको सबैभन्दा ठूलो लिथियम उत्पादक मध्ये एक हो, जुन कारको ब्याट्री बनाउन प्रयोग गरिन्छ । चिलिको लक्ष्य २०३५ सम्म देशमा ICE सवारी साधनहरूको बिक्री पूर्ण रूपमा बन्द गर्ने हो।

प्रतिक्रिया