जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुट्दै

मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् ।
विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ । प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटोछरितो राहत उद्धार र पुर्नस्थापनका लागि स्थानीय तह विपद् पूर्वतयारीमा लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन।
जिल्लाका आठवटै पालिकाले आगामी आवको बजेटमा समेत विपद् व्यवस्थापनका लागि न्यूनतम रु १५ लाखदेखि रु ५० लाखसम्म बजेट विनियोजन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा यहाँका स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिकाबीच प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धता गरेका छन् । पूर्वसूचना, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुर्नस्थापनका लागि अन्तरपालिकाबीच हातेमालो गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले विपद् पूर्वतयारीसँगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झण्डै रु ५९ लाख राहत वितरण गरेको छ । बाढी, पहिरो, आगलागीजस्ता विपद्बाट प्रभावित तथा कोभिड–१९ प्रभावितलाई प्रशासनले चालु आवमा राहत वितरण गरेको हो ।
जिल्लामा चालु आवको हालसम्म बाढी, पहिरो र आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । उनीहरुको परिवारलाई प्रशासनको विपद् व्यवस्थापन कोषबाट रु १९ लाख वितरण गरिएको छ ।
–––








प्रतिक्रिया