यसरी सम्झिन मन लाग्यो गिरिजा दाजुलाई ९९औं जन्म दिवसमा !

जयप्रकाश आनन्द २०७९ असार १९ गते ६:५१

धेरै कुराहरू सम्झिन गाह्राे भयो । खास गरी तिथी मितिहरू याद हुन्न्, कुरो पनि पुरानो भयो । कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानुपर्छ । यसरी विचार्दा कुरो वि. सं २०४८ पछिको हो । नेपाली कांग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ विकास समितिलाई १५ हजार रूपैयाँ अनुदान दिएको थियो । जरूरतमन्द नागरिकहरूको वडामा सामुहिक रूपमा उपयोग गर्नेगरी १/२ वटा हाते चापाकल (ट्यूबेल) जडान गर्नका लागि ।

गाउँ पञ्चायतको रूपान्तरण ‘गाउँ विकास समिति’को रूपमा भएको थियो । संभवतः केन्द्रबाट विषयगत अनुदानको रूपमा गएको यो पहिलो अनुदान थियो । सरकारको चाहना थियो कि यस रकमको कार्यान्वयन गाविसका तत्कालिन सचिव (सरकारी कर्मचारी)बाट होस् । तर, भर्खरै बन्दै गएको एमालेले सर्वदलीय समितिको कुरो उठायो । यसरी सर्वदलीय समिति बनेमा सबै गाविसहरूमा आफ्नो संगठनको विस्तार हुनसक्ने उसको धारणा रहेको हुनुपर्छ ।

वि. सं २०३८ साल तिर नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुनका लागि बीपी कोइरालाको देश दौडहा अन्तर्गत बीपीले कयौं ठाउँहरूमा विकास योजनाहरूका बारेमा बोल्नुभएको थियो । पहिलो प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा सिके प्रसाईंको आयोजनमा भएको थियो । यसरी देश दौडाहाको क्रममा स-साना प्रवचन कार्यक्रमहरूमा बीपीले अनेकौं ठाँउमा समाजवादी अर्थतन्त्रको गम्भीर परिकल्पनाहरू बारे बोल्नुहुन्थ्यो।

सायद यी कुराहरू कतै पुस्तिकाको रूपमा प्रकाशित पनि छ, तर आजका पुस्ताले खोजिनीति गरी पढ्दैनन् । यसै क्रममा बीपीले भन्नुभएथ्यो, ‘दक्षिण एशिया खासगरी नेपालमा यहाँका मानिसहरूमा देखिने रोगहरूमा ८० प्रतिशत रोगहरू दुषित खानेपानीको उपयोगबाट हुने गर्छ ।’ उनले भारत बम्बईका एक प्रख्यात चिकित्सकको रायलाई उद्धृत गरेर तेसो भन्नुहुन्थ्यो र जोड दिनुहुन्थ्यो कि यदि सरकारले आम जनतालाई शुद्ध खानेपानी मात्र उपलब्ध गराउन सक्यो भने नेपालका ८० प्रतिशत मानिसहरू विशेषतः दुषित खानेपानी खानाको कारणले हुने पेटको रोगबाट मुक्त हुन सक्छन् ।

गिरिजा प्रसाद कोइराला त्यसबेला साथै रहनुहुन्थ्यो । म समेत हामी कति जना पनि सँगै हुन्थ्यौं । कुरो सानो थियो, पञ्चायती शासनले अञ्चल अस्पताल र कतै/कतै जिल्ला अस्पताल खडा गरेको थियो । विराटनगर र राजविराजहरूमा अञ्चल अस्पताल थियो । अञ्चल भने उत्तरमा सोलु र ताप्लेजुंगसम्म फैलिएको थियो । अञ्चल अस्पतालको लाभ भने बढीमा मोरङ्ग र सप्तरीका मानिसहरूलाई पुग्ने स्थिति थियो । बीपीको मुखबाट मैले पहिलोपटक पाँच बेडको पीएचसी (प्राइमरी हेल्थ सेन्टर) को कुरा यस्तै मिटिंगहरूमा सुने । केही गाँउहरूमा स्वास्थ्य चौकीहरू खुल्न थालेको थियो ।

जहाँ अनमी स्तरका १/२ जना कर्मचारी हुन्थे । बीपीले एउटा जिल्लामा ५/७ गाँउहरू समेटेर १/१ पीएचसी बनाउनु पर्ने विचार राख्नुहुन्थ्यो । उहाँले यस्तो केन्द्रमा एमबीबीएसभन्दा तल अध्ययन गरेको स्वास्थ्य प्राविधिक रहने र यस्तो केन्द्रहरूमा कमसे कम साधारण औषधीहरू, रगत-खकार-दिसा, पिसाब जाच्ने सुबिधा र घाउँ खटिराको सानो सर्जरीको सुबिधा हुनैपर्ने व्यवस्थामा जोड दिनु हुन्थ्यो । यस्तै खालका मानिसको आँखा नलाग्ने प्रकारका स-साना कुराहरू गर्नु हुन्थ्यो ।

हामी चितवन पार गर्यौ । अहिलेको नारायणी नदीको पुलको ३/४ सय मिटर उत्तर पट्टी ठूल्ठूला डुंगामा मिनी बस र सानो चार पांग्रे मोटर जीपहरू पार गरिन्थ्यो । हाम्रो दौडहाले जाँहीताही उम्लेका पंचहरूको विरोधको सामना गर्नु पर्थ्यो । बडो हल्ला थियो, बीपीले चढ्ने डुंगालाई जीप र साथीहरू समेत नारायणीमा डुबाउने योजना छ रे ! आज चितवनमा कृष्णलाल सापकोटा, टेक बहादुर गुरूङ्ग, शायद एक जना धनाढ्य (सुभाष प्रधानको पिता जी), मुक्तिलाल चुके, मैया देवी दिदी, एकनाथ भाट हालैका चर्चित जग्गनाथ पौडेल र अहिले संझना नरहेका धेरै धेरैले बीपीको सुरक्षा साथ नारायणी पार गराउने अभिभारा लिए।

अहिलेको कांग्रेसले शायद यि मध्येका धेरैलाई कारवाही गरेर गैर कांग्रेसी बनाएका छन् । हामी राति नवलपुरमा सूर्यभक्त अधिकारीको घर (एउटा काठको सानो मचान जस्तो घर र बाँकी कटेरोहरू) मा बस्यौं । म र बिरेन्द्र दाहाल गिरिजा बाबुको कटेरोमा थियौं । अनिद्रामा रहनु भएका गिरिजा बाबुले मलाई अर्हाउनु भयो-जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नु भएका विभिन्न विषयका कुराहरू, उहाँका विचारहरूलाई टिपोट गर । सान्दाजु, बिमार हुनुहुन्छ । शायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनु हुन्न् । तर, प्रजातन्त्र त आउँछ नै । हामीले उहाँले देखाएका बिचारहरूलाई अगाडी बढाउनुपर्छ ।

मैले एउटा खास काम पाए । मलाई बीपीले भनेको याद छ । उहाँले कार्यकर्ताहरू सँगको कुराकानीमा भन्नु भा’थ्यो, ‘म विराटनगरमा ५/१० बिघा खेती भएको, परेको खण्डमा उपचार खर्चको स्वयंले जोहो गर्नसक्ने मानिस हुँ । तर, म बम्बईमा क्यान्सरको उपचार गराउन जादाँ खर्च ब्यहोर्न सकिन । जेपी, जय प्रकाश नारायणले केही रकम दिएर, केही रामनाथ गोयन्का (इन्डियन एक्सप्रेस पत्रिकाका मालिक)को सहयोगबाट अस्पतालको बिल तिर्न सके । आम नेपाली कसरी सक्छन् ? हामीले प्रिभन्टिभ हेल्थ सिस्टममा जानुपर्छ । एक/दुई ठूला अस्पताल भए पुग्छ ।

कालान्तरमा गिरिजा बाबु प्रधान मन्त्री हुनुभयो । उहाँको दिमाग एक प्रकारले पूर्व पोषित (प्रिअकुपाईड) थिएन । खाली थियो, देशको विकासका बारेमा, जनकल्याणका नीतिहरूका बारेमा केही मन परेका सम्झनाहरू थियो । जब गिरिजा बाबु प्रधानमन्त्री हुनुभयो र कसैले ध्यान न दिएको स-साना कुरालाई ज्यादै महत्त्व दिनुभयो । विश्व बैंकका प्रतिनिधिसँग भेट्दा देश भरमा गरी पहिलो चरणमा २० वटा ‘पिएचसी’ माग्नुभयो । बेलायतका राजदूतसँग ‘बेलीब्रिज’ माग्नुभयो । यो बेलिब्रिजले तेस बेलाको ठूलो बिध्वशकारी बाढीको बेला मुलुकको यातायातलाई सुचारू राख्न ठूलो मद्दत गरेको थियो । ठूला-ठूला एयरलाइन्स भन्दापनि हेलिकोप्टर सेवा संचालन गर्न निजी क्षेत्रलाई पहिले अनुमति दिनुभयो । यसलाई उहाँले रेस्क्यूसँग जोड्नुभयो।

कति सानो कुरा, आज कसैको आँखा नै नलाग्ने, देशका हरेक गाबिसलाई खानेपानीका निम्ति ट्यूबेल जडान गर्न १५ हजार रूपैयाँ अनुदान दिने व्यवस्था गर्नुभयो । उहाँले त्यस देश दौडहाको क्रममा बीपीले बोल्नु भएको दुषित खानेपानीको कारणबाट देशमा ८०% मानिसलाई पेटको रोग लाग्छ, यो मसिनो जस्तो लाग्ने कुरालाई बिर्सन सक्नु भएन । पीएचसीलाई भुल्नु भएको थिएन । ठूला ठूला र बिपूल वैदेशिक लगानीका साथ, विदेशी महिलाहरूका लागि ‘सेरोगेसी’ सन्तान जन्माउने अनुमति दिई नेपाललाई ‘हेल्थ टुरिज्म’ को अर्थशास्त्र पढनु भएको थिएन-गिरिजा बाबुले !

प्रतिक्रिया