विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
काठमाडौंको स्वयम्भूमा सोमबार बौद्ध परम्पराअनुसार तामाङको अन्त्येिष्ट गरिएको हो । तामाङको अन्तिम बिदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ पुगेका थिए । मन्त्री श्रेष्ठले राष्ट्रिय झन्डा ओढाइ नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते बिहान निधन भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताए ।
तामाङले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन सगरमाथा आरोहण गरेका थिए । तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो ।








प्रतिक्रिया