एक खर्ब ८५ अर्बको वस्तु निर्यात हुँदा १७ खर्ब ६३ अर्बको आयात, व्यापार घाटा १५ खर्ब ७७ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सुधारको लागि चालेको पछिल्ला कदमहरु अर्थात आयात निर्यातमा गरिएको कडाईले अर्थतन्त्रमा केही हदसम्म सुधार देखिएपनि अपेक्षा गरे अनुसारको सुधार भने नभएको देखिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको ११ महिनामा प्रतिवेदन अनुसार पनि अर्थतन्त्रमा अपेक्ष गरे अनुसारको सुधार नदेखिएको हो ।
राष्ट्र बैकले आयातमा गरेको कडाईका बावजुत बस्तु आयात कम देखिएको भएपनि निर्यात त्यति बढ्न सकेको छैन । यसले गर्दा बैदेशिक व्यापार घाटा उच्च देखिएको छ । प्रतिवेदन अनुसार चालु आवको ११ महिनामा कुल वस्तु निर्यात ५३ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब ८४ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१ दशमलव आठ प्रतिशत र ३० दशमलव एक प्रतिशतले बढेपनि चीनतर्फको निर्यात भने २१ दशमलव चार प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको देखिएको छ ।
प्रतिवेदन अनुसार चालु आवको पछिल्लो अवधिमा कुल वस्तु आयात भने २७ दशमलव पाँच प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४ दशमलव दुई प्रतिशत, १६ प्रतिशत र ४६ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट् स लगायतका वस्तुको आयात बढेपनि एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।
निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा पनि बढेको छ । प्रतिवेदन अनुसार पछिल्लो ११ महिनामा कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव छ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ७३ अर्ब २६ करोड बराबरको रहेको देखिएको छ ।
प्रतिक्रिया