‘मेराे राजनीतिक करिअर सिध्याउने र चरित्र हत्या गर्ने प्रयास भयाे’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती कुमारी शाहीले आफ्नाे राजनीतिक करिअर सिध्याउने र चरित्र हत्या गर्ने प्रयास गरेकाे बताएकी छन् । उनले आफ्नाे तिसौ वर्षको राजनीति योगदानलाई सिध्याउने र चरित्र हत्या गर्ने गरी केही सीमित ब्यक्तिले सामाजिक सञ्जाल र मिडियामा नियाेजित प्रचार गरिएकाे आराेप लगाएकी छन् ।
‘पार्टी कार्यालय धुम्बराहीमा महिलाहरूको छलफलमा विवाद भई झैझगड़ाको रूप हुँदा महिला संगठनको अभिभावकको रूपमा सो कार्यको समाधान गर्नु मेरो जिम्मेवारी हो । सोही झैझगड़ा कै बिचमा म पार्टी अन्य छलफलमा रहेको समयमा मलाई कर्मचारीबाट खबर आएपछि म महिलाहरुको छलफल कक्षमा जादा एकआपसमा भिड़ेको स्थिति हेर्दा मैले छुट्टाउनु मेरो पहिलो कर्तब्य भएकोले म त्यो कार्यमा लागेको हो,’ उनले प्रेस नाेट जारी गर्दै भनेकी छन्, ‘यही कुरालाई लिएर अहिले मिडिया र सामाजिक संजाल मार्फत आम कार्यकर्ता र आम नागरिकका माझ भ्रमित पार्ने गरी आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउदछु ।’
महामन्त्री शाहीले पदीय दायित्व आफूले नभुलेकाे भन्दै उनले घटनाको वास्तविक सत्यतथ्य चाडै बाहिर ल्याउने प्रतिबद्धता जनाएकी छन् । राप्रपाकाे केन्द्रीय कार्यालय धुम्बराहीमा यही असार २६ गते महिलाहरूको छलफलमा विवाद भई झगड़ा भएकाे थियाे । उक्त झगडामा महामन्त्री शाहीकाे पनि संलग्नता रहेकाे समाचार सार्वजनिक भएकाे थियाे ।








प्रतिक्रिया