प्रधानमन्त्री भन्छन्- आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेकाे बताएका छन् ।
आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहने समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तका कविताले तत्कालीन नेपाली समाजको यथार्थलाई सरल तरिकाले चित्रण गर्नुका साथै समाजका लागि शिक्षा र सकरात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे ।
भाषिक एकीकरणका नायक भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुयाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले रसिला साहित्यिक रचनाको माध्यमबाट आध्यात्मिक चेतना र जागरण फैलाई समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न आदिकवि भानुभक्तले पु¥याउनुभएको योगदानको प्रशंसा गरेका छन् ।
आदिकवि भानुभक्तले रामायणजस्तो मौलिक, सांस्कृतिक महाकाव्यका साथै प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, रामगीताजस्ता काव्य र उल्लेख्य फुटकर कविताको रचना गरेर नेपाली काव्य साहित्यको बलियो जग बसाल्नुभएको छ । नेपाली भाषामा पहिलो महाकाव्य सिर्जना गर्ने उनी सबैका लागि आदरणीय व्यक्तित्व छन् ।
आदिकवि भानुभक्तका रामायणलगायत कालजयी साहित्यिक कृतिहरू अहिलेसम्म पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्तीको अवसरमा उनीलाई श्रद्धापूर्वक स्मरण गरेका छन् ।
प्रधानमन्त्री देउवाले यो दिवसले आदिकवि भानुभक्तको जीवनी र चरित्रबाट शिक्षा लिँदै सबैलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्दै उनीप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रतिक्रिया