बिहीबार, वैशाख २०, २०८१

स्याङ्जाको मिर्मीमा नेपाल टेलिकमको एफटीटीएच सुरु, गल्याङ कपर फ्री

नेपालखोज २०७९ साउन ३ गते ११:५६

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा आज (मंगलबार) देखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइवर टु होम (एफटीटीएच) सेवाको विस्तार सुरु गरेको छ । गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवा पूर्ण एफटीटीएचमय भई कपर फ्री नेटवर्क बनेको छ । कपर फ्री नेटवर्क हुँदा अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्नसमेत सहज हुने गर्दछ ।

तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्पmत एउटै रेशाबाट ब्रोडब्यान्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएकाले उपभोक्तालाई सहज भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउमा एफटीटीएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्तालक्षित सेवा उपलब्ध गराइने उनले बताए ।

त्यसैगरी, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ‘उच्च गति न्यून दर’ को एफटीटीएच सेवा उपलब्ध गराइएको दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताए ।

यस सेवामार्पmत उपभोक्ताले आफ्नो इच्छाअनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् । सामान्य घरमा प्रयोग हुने ८ एमबीपीएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबीपीएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए । उनका अनुसार वार्षिक प्याकेजअनुसार यो सेवा लिने ग्राहकले पीएसटीएन टेलिफोनको न्यूनतम मासिक महसुल वर्षैभर निःशुल्क प्राप्त गर्नुका साथै अन्य ६ प्रकारका सेवासमेत निःशुल्क पाउने बताए ।

प्रतिक्रिया