बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका १ बस्ने श्यामबहादुर थापालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका थापाले सानिमा बैंक लिमिटेड नयाँबजार शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।
सोही आधारमा बैंकिङ कसुर मुद्दामा फैसला गर्दै प्रतिवादी थापालाई पाँच दिन कैद र १५ लाख १९ हजार सात सय ५० रुपैंयाँ जरिवाना हुने ठहर भएको थियो ।
सोपश्चात् फरार रहेका थापालाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले आज (बुधबार) काठमाडौंको चन्द्रागिरि नगरपालिका २, बलम्बुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको सीआईबीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया