कोसीको भंगालो उदयपुर बस्तीमा, सप्तरी र सुनसरीका बस्ती पनि उच्च जाेखिममा

नेपालखोज २०७९ साउन १८ गते ९:५०
फाइल तस्बिर ।

काठमाडाैं । कोसी नदीको भंगालो उदयपुर बस्तीमा पसेको छ । आज (बुधबार) बिहानदेखि उदयपुरको बेलका डुम्म्रिबोटे ८ नम्बर वडाबाट बाढीको भंगालो बस्तीमा पसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

उनका अनुसार नदी पुरानो धारमा फर्किने हो भने करिब २५ सय घरधुरी बाढीबाट प्रभावित हुनेछन् । बाढी पुरानै धारमा पूर्ण रूपमा फर्किए उदयपुर मात्रै नभएर सप्तरी र सुनसरी दुईवटै जिल्लामा पनि प्रभाव पर्ने भएका प्रमुखलाई सचेत गराइएकाे उनले जानकारी दिए ।

उनले भने, ‘बेलकाको १,२,३, ८ र ९ नम्बर वडा बाढीबाट तत्काल प्रभावित हुने देखिएको र यीबाहेक सप्तरी र सुनसरीका बस्ती पनि बाढी प्रवेश गर्ने देखिएकाले ठूलो भू–भाग प्रभावित हुने देखिन्छ ।’ 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । अहिले बस्ती सुरक्षित ठाउँतर्फ सार्ने काम भइरहेको उनले जानकारी दिए । पानीकाे बहाव कम गराउन काेसीकाे ढाेका खाेल्नका लागि भारतीय पक्षसँग समन्वय भइरहेकाे पनि उनले बताए ।

प्रतिक्रिया