मंगलबार, वैशाख १६, २०८२

बुद्धवाणी !

नेपालखोज २०७९ साउन १९ गते ५:००

१. बुद्धको भावना अत्यन्त करुणा र मायाले भरिएको छ । यसरी अत्यन्त मायाले भरिएको भावना सबै मनुष्यलाई कुनै वा सबै प्रकारले रक्षा गर्ने भावना हो । महती करुणाको भावना त्यो हो जसले अरुको बिरामीमा बिरामी हुन तथा अरुको दुःखबाट दुखित हुनुतर्फ प्रेरित गर्दछ ।

बुद्धले भनेका छन् ‘तिम्रो दुःख मेरो दुःख हो र तिम्रो सुख मेरो सुख हो ।’ जसरी कुनै पनि आमाले आफ्नो बालकलाई सदैव माया गर्छिन्, उनले यो भावना एक क्षणका लागि पनि बिर्सन्नन् किनभने अरुप्रति करुणामय हुनु बुद्धत्वको प्रकृति हो ।

बुद्धको करुणाको भावना मानिसको आवश्यकताअनुसार प्रोत्साहित हुन्छ । मानिसको विश्वास यसै भावनाप्रतिको प्रतिक्रिया हो र यसैले उसलाई ज्ञानतर्फ लग्दछ, ठीक त्यसरी नै जसरी कुनै पनि आमाले आफ्नो मातृत्व सन्तानलाई स्नेह गरेर अनुभव गर्छिन् । अनि सन्तानले आमाको त्यो माया पाएर आफूलाई सुरक्षित र आराम ठान्दछ ।

तैपनि मानिसहरू बुद्धको यो भावना बुझ्दैनन् र अज्ञानद्वारा उत्पन्न तृष्णा र मोहमा परेर दुःख भोगिराखेका हुन्छन्, उनीहरू सांसारिक रागद्वारा संग्रहित आफ्नै कर्मले दुःख पाउँछन् तथा आफ्नो पापी कर्मको भारी बोकेर मोहको पर्वतमा भौँतारी रहन्छन् ।

२. बुद्धको करुणा यस जन्मका लागि मात्र हो भनी विचार नगर, यो त अनादि बुद्धको अनन्तकालदेखिको करुणाको प्रकटीकरण हो र यो अज्ञातकालदेखि सक्रिय छ जबदेखि मनुष्यले आफ्नो अज्ञानको कारणले बाटो बिरायो ।

अनादि बुद्ध मानिसहरूका समक्ष अत्यन्त मैत्रीपूर्ण रूपमा प्रकट हुन्छन् र उनीहरूलाई दुःखबाट मोक्षको सर्वश्रेष्ठ बुद्धिमत्तापूर्ण प्रक्रिया प्रदान गर्दछन् । शाक्यमुनि बुद्ध शाक्य वंशमा राजकुमारका रूपमा जन्मेका थिए, उनले संन्यासीको जीवन व्यतीत गर्न आफ्नो महलका सुखसुविधा परित्याग गरे । मौन ध्यानको अभ्यासद्वारा उनले बोधिज्ञान प्राप्त गरे । उनले आफ्ना मानिसहरूमा धर्मको उपदेश दिए र अन्त्यमा आफ्नो पार्थिव शरीरको त्यागद्वारा यसको अन्तिम अभिव्यक्ति प्रकट गरे ।

बुद्धत्वको कार्य त्यतिकै चिरस्थायी छ जत्तिको मानव अज्ञान अनन्त छ, र जसरी अज्ञान अत्यन्त गहिरो छ । त्यसरी नै बुद्धको करुणा असीमित छ ।

प्रतिक्रिया