स्वतन्त्रले उत्पात गर्छ भनेर ह्विम चलाइएको छ, यो सम्भवै छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्वतन्त्रले उत्पात गर्छ भनेर ह्विम चलाइएको दाबी गरेका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालामा शुक्रबार उनले यस्तो बताएका हुन् ।
स्वतन्त्रहरूले एकरूपतामा काम गर्न नसक्ने उनको जिकिर थियो । उनले भने, ‘स्वतन्त्रहरुको सोच हुँदैन ? फरक फरक सोच भएका मानिसहरुले एकरूपतामा कसरी काम गर्छन् ? स्वतन्त्रले उत्पात गर्छ भनेर ह्विम चलाइएको छ । सम्भवै नहुने कुरा हो ?’
उनले स्वतन्त्र उम्मेद्वारले सबै काम गर्न सक्छ भन्ने भ्रम छर्न खोजिएको टिप्पणी गरे । ‘स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल भएका छन् ? दलीय प्रणाली चाहिँदैन ? एउटा प्रणालीमा नचले देश कसरी अगाडि बढ्छ ?,’ उनले प्रश्न गरे । उनले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा पनि दिएका छन् । ‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन्,’ कार्यक्रममा ओलीले भने ।
यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र खतरनाक तत्त्व भएको आरोपसमेत ओलीले लगाएका छन् । उनले कांग्रेस-माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने पनि बताए । ‘कांग्रेस-माओवादीले जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले जे पनि गर्न सक्छन् ।’
अहिले चुनाव जित्न कार्ल मार्क्सको पुँजी पढ्नु नपर्ने उनको तर्क थियो । ‘अहिले दास क्यापिटल नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ उनले भने । चुनाव अगाडि गठबन्धनले दिग्भ्रमित बनेका मतदातालाई भ्रममुक्त गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । ‘मतदातालाई अरुले दिग्भ्रमित बनाउन नसकून् । भ्रममा नपरेका कोरा कागजमा नाम लेखिहालौं,’ उनले भने, ‘भ्रममुक्तलाई आफ्नो पक्षमा स्पष्ट बनाउने र भ्रमितलाई भ्रममुक्त गरिदिने ।’
अध्यक्ष ओलीले गठबन्धनले आँखामा मोतीविन्दु हालिदिएकाहरूलाई भ्रममुक्त गराइदिन आग्रह गर्दै भने, ‘उनीहरुको आँखाबाट भ्रमको मोतीविन्दु मुक्त गर्नुपर्छ ।’








प्रतिक्रिया