कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनकाे शनिबार राति ९ बजेर ३६ मिनेटमा निधन भएकाे हाे ।
उनकाे तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । ७५ वर्षीय गिरिकाे परिवारको आग्रहमा शुक्रबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।
उनलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरि लगत्तै निमोनियाँ संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै आइतबार पशुपति आर्यघाटमा गिरिको पार्थीव शरीरको अन्त्येष्टि गरिने जनाएको छ । त्यसअघि उनको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिनेछ । बिहान साढे ११ देखि २ बजेसम्म भने पार्टी मुख्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने कार्यक्रम तय भएको सचेतक विश्वकर्माले जानकारी दिएका छन् ।
कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराईनजिकका नेताका रूपमा चिनिन्थे । पछि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।


प्रतिक्रिया