सिर्जनशील लघुवित्तको आईपीओ आउँदै

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता एक सय अंकित रुपैयाँमा तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता सेयर कर्मचारीलाई र निष्कासित सेयरको पाँच प्रतिशत अर्थात् १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ६८ हजार पाँच सय ९० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यो अवधिसम्म मागबमोजिम आवेदन नआए भदौ २९ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्गस नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी माइनस इस्युयर’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया