शुक्रबार, वैशाख १४, २०८१

म यायावर, आज बंगालमा छु !

जयप्रकाश आनन्द २०७९ भदौ ८ गते १५:११

आज ५२ वर्षपछि म कुनै पूर्वयोजना बेगर यहाँ आइपुगे। नजिकको सहर आएको थिए, पुराना यादहरूले यहाँ ल्याई पुर्‍यायो। म मनलाई अवरोध गरिनँ, यहाँसम्मको यात्राका लागि निमित्त मात्र भए।

यो भारत, पश्चिम बंगाल राज्यको अत्यन्त दुर्गम ‘भूतनी दियारा’ गाउँ हो । धेरै पहिले वाराणसीबाट जेपी, जयप्रकाश नारायणको गाउँ ‘सिताव दियारा’ गएको थिएँ । ‘दियारा’को अर्थ बुझेको थिइन। पाँच दशक पहिले यहाँ आउँदा कम उमेरको कारणले जान्ने जिज्ञासा नै भएन होला । आज बुझें ‘दियारा’ भनेको चारै तिरबाट नदीले घेरिएको ठाउँ हो । टप्पू वा टापू जस्तो। मेरो जीवनका बालकालले मलाई कयौं महिनाका लागि यहाँ ल्याइपुर्‍याएको थियो ।

‘फरक्का’को गंगा बाँधबाट १५/२० किमी उत्तरमा चण्डिपुर प्रगन्नामा यो भूतनी दियारा रहेको छ। यसको पश्चिममा मूल गंगा नदी छ । यसलाई पार गरेपछि झारखण्ड प्रदेशको राजमहल पुगिन्छ। हुनत यो गाउँ चारै तिरबाट गंगाजीको साना-ठूला धारहरूबाट घेरिएको छ। थोरै हिन्दू, बढी मुसलमान र सन्थालहरूको यस कहाली लाग्दो टप्पुमा म त्यसबेला कसरी आइपुगेको थिए, कुनै दिन लेखौला । आज याद गर्दछु, मैले त्यस बेला थोरै बंगला बोल्न र लेख्न पनि सिकेको थिए। मनको कुनै एजेन्डा पनि थिएन। जीवनको कुनै रूपरेखा पनि थिएन । गंगाको मलिलो माटोमा खस्रो पहेंलो बालुआ मिसिएको यहाँको बगरमा म मेरो कलिलो औंलाबाट जता तिर गएको धर्को बनाउथें-हिडेको भए शायद जीवन त्यतै लाग्थ्यो होला। मुसलमान, संथाल वा हिन्दू जसको पनि धर्म र जीवनशैली मेरो हुन्थ्यो । म नाविक, माझी, त्यतैको खेतिहर मजदूर वा आदिवासी यायावर हुन्थे।

अहिले थोरै सम्झिन्छु, धुमिल सम्झना आयो-मानिकचक र मथुरापुर कसबाबाट आधी दिन जति नाउमा गंगा तरेपछि यहाँ पुगिन्थ्यो। अहिले गंगालाई बाँधबाट साँगुरो पारी २ किमीको पुल बनाइएको छ। पुग्न सहज भएको छ । कठिन स्मृतिको यो पुरानो ठाउँमा। तर, गाउँ बस्ती सबै उस्तै छन्। उनेकन प्रतापी राजनेताहरू विधानचन्द्र, सिद्धार्थ शंकर राय, ज्योति बसु र ममता बनर्जीहरूको शासनले यहाँ खासै फरक पारेको देखिन्न। फरक पारेको भए मैले सजिलै सम्झिने पनि थिइन होला।

म सन् १९७० मा यहाँ आएको थिएँ । डाकाँ लाग्थ्यो। झारखण्डका आदिवासी क्षेत्रबाट गंगा तरेर आउथे रे डाकाँहरू । थोरै सम्पन्न हरेक घरले सुरक्षा अपनाएको हुन्थे। घरका झ्यालमा भित्रबाट गोली हान्नका लागि सानो चारपाटे उपझ्याल बनाइएको हुन्थ्यो । यहाँ तल मैले पोष्ट गरेको एक तस्वीरमा त्यो चोर झ्याल अझै रहेको फोटो हालेको छु । म त्यसबेला बेला यहाँ बसेको घर गाउँकै ठूलो घर थियो। नाम चलेका धनी मानिसको। बंगला सम्वत् १३६५ मा यो घर बनेको अहिले पढेँ। घरको शिर भागमा सिमेन्टको अक्षरबाट कुँदिएको छ यो तिथि। अहिले बंगला सम्वत् १४२९ चल्दैछ। सबै भेटियो, त्यस घरमा कयौं रात बिताइएका कोठा, बाहिरको ठूलो आँगन, हप्ता हाट जाने मसिनो बाटो, नाउमा पार हुनु पर्ने गंगाजीमा बनेको पक्की पुल, गाउँ र कोही पनि नचिनिने यहाँका मानिसहरू। तर, यो घर भनौं वा कोठी यसका कोही उत्तराधिकारी भने भेटिएन। कोही कलकत्ता, दिल्ली, मालदा यस्तै सबै सुविधाका शहर महानगर तिर सरेका रहेछन्।

अब फर्किनु नै पर्ने भयो। यहाँको स्मृति मात्र मेरो हो। अरू केही पनि, कोही पनि यहाँ मेरो देखिएन-जस्तो कि नेपालमा छ, सबै थोक, सुखका-दुःखका-रोग र भोक सबै समयका । ५२ वर्ष कम होइन । हामी कहाँ १२ वर्षमा खोलो पनि फर्किन्छ भनिन्छ। तर, म त यहाँ ५२ वर्ष पछि आएको हुँ। कही कतै कल्पना थिएन कि यसरी म यहाँ आइपुग्नेछु। भाव विह्वल भएर फर्के म ‘भूतनी दियारा’बाट । स्थिर रहन्छ भूगोल, भूअवस्था र अवस्थिति ।

प्रतिक्रिया