शनिबार, जेठ ५, २०८१

नेप्से २०२२.६२ अंकमा, सातामा ९ अर्ब ६४ करोडको कारोबार

नेपालखोज २०७९ भदौ ११ गते १४:११

काठमाडौं । यो साता नेप्से २ हजार २२ दशमलव ६२ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ३ सय ९१ दशमलव ७४ अंकमा सीमित भएको छ ।

सातामा २ सय २३ वटा कम्पनीको १ लाख ९६ हजार २ सय ७३ पटकको कारोबारमा २ करोड ६१ लाख २ हजार ४ सय ४७ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५३ लाख ९७ हजार ७ सय ५५ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो ।

गत साता भने नेप्सेमा २ सय २७ कम्पनीहरूको १ लाख ९२ हजार ४ सय ७७ पटकको कारोबारमा २ करोड ५५ लाख ९१ हजार १ सय २३ कित्ता सेयर किनबेच भएका थिए । जसबाट कुल कारोबार रकम १० अर्ब ५० करोड ५० लाख ७३ हजार ८ सय ८० रुपैयाँ पुगेको थियो । यो साता नेप्से ६ दिन नै खुला रहेकामा तेस्रो र चौथो दिन बढे पनि पहिलो, दोस्रो, पाँचौं र छैटौं दिन भने नेप्से घटेको थियो ।

सोमध्ये पहिलो दिन ७ दशमलव ७२ अंकले घटेर २ हजार ६० दशमलव ५५ अंकमा खुम्चिएको नेप्से साताको अन्तिम कारोबार दिन पनि १६ दशमलव ९३ अंकले घटेर २ हजार २२ दशमलव ६२ अंकमा सीमित हुन पुगेको थियो । यसबीचका अन्य दिनहरूमा भने दुई दिन नेप्से बढेको थियो भने दुई दिन घटेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १ दशमलव ४९ अंकले घटेर ३ सय ९८ दशमलव ५८ अंकमा खुम्चिएकामा अन्तिम कारोबार दिन पनि २ दशमलव ७७ अंकले घटेर ३ सय ९१ दशमलव ७४ अंकमा खुम्चिएको थियो । यसबीचका दिनहरूमा दुई दिन सेन्सिटिभ इन्डेक्स घटेको थियो भने दुई दिन बढेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेका छन् ।

यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया