शुक्रबार, वैशाख १२, २०८२

विश्व बैंकले करिब १३ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण दिने

नेपालखोज २०७९ भदौ १३ गते १४:०६

काठमाडौैं । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच आज लगभग १३ अर्ब नेपाली रूपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्ने यस प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ । ग्रिडअन्तर्गत तीन सहिलयतपूर्ण ऋण डीपीसीहरूको शृंखलामध्येको यो पहिलो हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका हुन् ।

‘कोभिड–१९ महामारीको परिप्रेक्ष्यमा नेपाल सरकार, विश्व बैंक र विकास साझेदारहरूले महत्त्वपूर्ण काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेसँगै हरित, थप समावेशी र थप उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेका छन्,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले भने, ‘यस अपरेसन यही प्रतिबद्धताको एक मुख्य अंश हो । यस कार्यक्रममार्फत हामी जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी फोहोर र प्रदूषणलगायत क्षेत्रमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यहरूलाई सहयोग गर्दै छौं ।’

ग्रिड डीपीसीको यस पहिलो चरणको अपरेसनमा प्राकृतिक पुँजीको दिगो र उत्पादक प्रयोग, सहरी तथा ग्रामीण पूर्वाधार, मानव पुँजी र जीविकोपार्जनको क्षेत्रलाई जलवायु तथा वातावरणीय जोखिमविरुद्ध उत्थानशीलता र थप छरितो र स्वच्छ उत्पादन, खपत तथा आवागमनलाई बढावा आदि यस चरणमा समावेश गरिएका छन् । यस कार्यक्रमले ग्रिडअन्तर्गतका रणनीतिक परिवर्तनका लागि नेपाल सरकारले अवलम्बन गरेका नीतिगत कार्यमा समर्थन गर्दछ जसले सबैका लागि समृद्धि निर्माण गर्नुका साथै कायम राख्न मद्दत गर्नेछ ।

कार्यक्रमले नेपालको अर्थतन्त्राई हरितकरण गर्नुका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा र ठोस फोहोर व्यवस्थापनजस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा यस कार्यक्रमले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछ । विकाससम्बन्धी निर्णय प्रक्रियामा समावेशितालाई सुदृढीकरण गर्नुका साथै स्रोत तथा सेवाहरूमा सबैको पहुँच बढाउन गरिने सुधार कार्यहरूमा पनि यस कार्यक्रमले सघाउनेछ ।

‘नेपालको ग्रिड मार्गतर्फको प्रस्थान भनेको यस अवसरले भरिपूर्ण तथा चुनौतीपूर्ण समयका लागि आवश्यक रणनीतिक कदम हो । कोभिडबाट आर्थिक पुनरूत्थानका साथै हाल विद्यमान विपत्, जलवायु तथा वातावरणीय जोखिमलगायत दिन प्रतिदिन जटिल बन्दै गएको नेपालको विकाससम्बन्धी चुनौतीको माझमा गरिबी निवारण गर्दै देशको समृद्धिका लागि भइरहेको प्रगतिलाई विस्तार तथा संरक्षण गर्न यस परिवर्तनले सघाउनेछ,’ सह–सचिव अर्यालले बताए ।

प्रतिक्रिया