धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्डको हुने

नेपालगन्ज । धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वर्ल्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ (एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमवार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिए । ‘नेपालगन्ज म्याराथनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ,’ मेयर विष्टले भने, ‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’
म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलग अलग सर्टिफिकेट आउने सान्डिवानले बताए । कोर्ष मापनको सुरुवाती चरणमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिसमेत थिए । एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।
‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरू प्नि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने अपेक्षा लिएको छु,’ मेयर विष्टले भने, ‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुसीको कुरा हो ।’
नेपालगन्ज म्याराथन हरेक बर्ष मंसिर महिनाको पहिलो शनिबार आयोजना हुने गर्दछ । यस वर्ष मंसिर ३ गते तय भई तयारी अघि बढेको थिए । आमनिर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन साता पछि सार्दै मंसिर २४ गते शनिवार आयोजन ागर्ने तयारी गरेको छ । सरकार र तत्कालीन नेकपा माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ । यसपटक मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन सातापछि सारिएको हो । ‘लोकतन्त्रमा आमनिर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको विषय हो,’ म्याराथन संस्थापक टीएस ठकुरीले भने, ‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’
सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीनवटा म्याराथन अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्रतिक्रिया