‘हामी सय दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन्’

नेपालखोज २०७९ भदौ १९ गते ८:४७

काठमाडौं उपत्यकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका छन् ।

मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताएका छन् । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उनले जनाएका छन् ।

साथै उनले लेखेका छन्, ‘हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्नेभन्दा पनि आममानिसहरुले कसरी हेर्नुभयो भन्ने बढी अर्थपूर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौं, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ ।’

उनले अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने कामबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् । नर्भिक अस्पताल लगायतले निर्माण गरेका अनधिकृत संरचना हटाएको विषयमा उनले लेखेका छन्, ‘जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रुपमा प्रयोग हुनुपर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौं ।’

प्रतिक्रिया