बिहीबार, असार १९, २०८२

दार्चुलामा डेङ्गुका बिरामी भेटिएपछि अस्पतालका शय्या भरिभराउ

नेपालखोज २०७९ भदौ २३ गते १३:३३

दार्चुला । भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा. आदर्श लिम्बूकाअनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् ।

जेठमा दुई जनामा डेङ्गु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेङ्गु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिंकाशमा डेङ्गुको लक्षण देखिएको छ । डेङ्गुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा लिम्बूले बताए । ‘अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ’. उनले भने, ‘अहिले डेङ्गुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ ।’

एडिस (एजिप्टाई) जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरोमध्येमा डेङ्गु पर्दछ । उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ । बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गटा लाग्नेलगायतका लक्षण देखिने गरेको डा. लिम्बू बताउँछन् । – रासस

प्रतिक्रिया