तनहुँमा राहदानीबाट चार करोड ४२ लाख राजश्व संकलन

नेपालखोज २०७९ भदौ २६ गते ७:३३

तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा चार करोड ४२ लाख रूपैयाँ संकलन भएको छ । आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट चार करोड ८० लाख रूपैयाँ संकलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरीवाना, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजश्व सङ्कलन गरेको हो । सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ ।

दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ । कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छ वटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया