शुक्रबार, वैशाख ७, २०८१

श्रेष्ठको उपन्यास ‘फरैना’ सार्वजनिक

नेपालखोज २०७९ भदौ २८ गते ११:३१

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठ उपन्यासकारमा रुपमा उदाएका छन् । उनको पहिलो उपन्यास ‘फरैना’ विमोचन गरिएको छ ।

महानायक राजेश हमाल, प्रा‍.डा. कृष्णहरि बराल, डा. भीमार्जुन आचार्य र लेखक एवं नेतृ शान्ता चौधरीले सामूहिक रूपमा उपन्यासको विमोचन गरेका थिए ।

विमोचन समारोहमा सांसद चौधरीले कमलरी प्रथाबारे गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएजस्तो लागेको टिप्पणी गरिन् । ‘यो उपन्यासका हरेक पानाहरू पढ्दै जाँदा आफ्नो अतितका दिनहरूमा फर्कन बाध्य भएँ, जुन कुराहरू म बिर्सन कोसिस गरिरहेको हुन्छु,’ उनले भनिन्, ‘सन्तोष श्रेष्ठले हाेइन कि कोही सन्तोष थारुले लेखेजस्तो महसुस भयो ।’

वक्ता डा. कृष्णहरि बरालले प्रकृतिको सुन्दर चित्रणसहित मानवीय संवेदनालाई यस उपन्यासले जबरजस्त प्रस्तुत गरेको बताउँदै गायक र सङ्गीतकारका रुपमा उचाइमा पुगेको सन्तोषको व्यक्तित्वमा अब उपन्यासकार जोडिएको भन्दै बधाई दिए ।

कार्यक्रममा डा. भीमार्जुन आचार्यले बनोट र बुनोटका हिसाबले अत्यन्त माझिएको अभिव्यक्तिले फरैना पठनीय बनेको टिप्पणी गरे । फरैना पूर्ण अध्ययन गरेका महानायक हमालले यस कृतिमा संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमुना रहेको प्रतिक्रिया दिए ।

उपन्यासकार श्रेष्ठले आफ्नो मानसपटलमा लामो समयदेखि सलबलाएको गम्भीर प्रश्नले आख्यानको यो आकार ग्रहण गरेको बताए । ‘यसलाई मैले आफ्नो संवेदनाको प्रतिरूप मानेको छु,’ उनले भने । उनले सानैदेखि देखेको विकृति, विसङ्गतिलाई उपन्यासमा उतार्न सफल भएकामा खुसी व्यक्त गरे । कोरोना महामारीका कारण भएको बन्दाबन्दीको समयमा उपन्यास लेखेको उनले बताए ।

थारु समुदायमा वर्षौंसम्म कुप्रथाका रुपमा रहेको कमलरी, त्यसभित्रका दु:ख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोट उपन्यासका मूल विषयवस्तु छन् ।

प्रतिक्रिया