पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पार्ने कार्यक्रम फिर्ता लिन निगमकाे आग्रह

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायी महासंगले गर्ने भनेकाे आन्दोलनका कार्यक्रमप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । निगमले भदौ २८ गतेदेखि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्ण रुपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरुप्रति निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे हाे ।
निगमले भदौ २४ गतेदेखि महासंघ सम्बद्ध ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थ आयात गर्न पिडिओ नलिएको हुँदा पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई हवाई यात्रुलगायत अन्य सर्वसाधारणमा संत्रास पैदा भएको जनाएकाे छ ।
निगमले महासंघले भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ गतेदेखि सबै डिपोहरुको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुन जाने स्थितिलाई गम्भिरतापूर्वक मनन गर्दै यस किसिमका अवरोधका कार्यक्रमहरु तत्काल फिर्ता लिन अनुरोध गरेको छ ।
निगमले बन्द हड्तालका सम्बन्धमा मुलुकको विद्यामान कानूनी व्यवस्थालाई समेतलाई ख्याल गर्दै महासंघबाट सार्वजनिक भई जारी रहेका आन्दोलन एवं अवरोधका सम्पूर्ण कार्यक्रमहरु आजैका मितिदेखि फिर्ता लिई पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुको आयात, ढुवानी एवं विक्री वितरण कार्यमा सहयोग गर्न भनेकाे छ ।

प्रतिक्रिया