मंगलबार, वैशाख ११, २०८१

गणेशमान सिंहसँगको अन्तिम भेट !

हरि अधिकारी २०७९ असोज २ गते १९:४७

त्यसक्षण नेता गणेशमान सिंहको बाँकी नपरेको, ढ्याब्रे जस्तो देखिने तल्लो ओठको दाहिने कुनातिर देखापरेको मुस्कानको पातलो धर्सो अलि बढी नै व्यङ्ग्यपूर्ण लाग्यो मलाई । हुन त सिंहका फुस्रो रङ्गका मोटा ओठहरूमा मुस्किलले कोरिने मुस्कानका रेखाहरू प्रायः व्यङ्ग्यपूर्ण नै हुन्थे जसले उहाँको व्यक्तित्वलाई कताकता रहस्यमय बनाइरहेको भान हुन्थ्यो । तर, त्यति बेलाको उहाँको मुखमुद्रा भने अलि बढी नै अस्वाभाविक जस्तो देखियो र थोरै भयप्रद जस्तो पनि लाग्यो मलाई ।

‘हजूर गणेशमानजी !’ कुराकानीको क्रमलाई जोड्न खोज्दै मैले सोधेँ ।

‘म..म माने एकदमै निराश भइसक्या छु । नेपाली कांग्रेस त माने खत्तमै हुन्छ, यो देशकै भविष्यका बारेमा पनि माने केही भन्न माने सकिँदैन ।’

अड्किँदै अड्किँदै यति भनेर उहाँ चुप लाग्नुभयो । त्यसको साथै उहाँको ओठमा देखापरेको व्यङ्ग्यपूर्ण मुस्कानको मलिन रेखा पनि मेटियो । आँखा चिम्लिएर ध्यानमग्नझैँ आरामकुर्सीमा बस्नुभएको लौहपुरुष पराजयको मार्तोलले थड्थिलो पारेको कुनै सामान्य मानिसजस्तै कमजोर देखिनुभयो त्यतिबेला ।

साहस, धैर्य, उत्साह र सकारात्मक सोचका जीवन्त प्रतिमूर्ति वीर गणेशमान सिंहलाई त्यस रूपमा देख्नुपर्दा मेरो अन्तःस्करणमा पहिरो गएझैँ भयो । मन भित्रको हाहाकारलाई क्रन्दन बनेर बाहिर निस्कन नदिने प्रयासमा मैले सुदूर उत्तरी–क्षितिजमा मैलो नीलो रङ्गको च्यादर ओढेर उँघिरहेका नाङ्गा पहाडहरूमा नजरलाई अल्झाउँन खोजेँ ।

विक्रमीय २०५२ सालको हिउँदको एउटा निर्मल दिन । ललितपुर, खुमलटारमा रहेको सिंहका प्रियपात्र पर्यटन व्यवसायी भक्तबहादुर मल्लको बङ्ग्लोमा स्वास्थ्यलाभ गरिरहनु भएका रुग्णदेह गणेशमानजीलाई भेट्न गएको मैले आफ्नो सबैभन्दा प्रिय र आदर्श नेतालाई त्यस्तो हतोत्साह रूपमा देख्ने कल्पनासम्म पनि गरेको थिइनँ ।

मेरो मनले भनिरहेको थियो–गणेशमानजीलाई रोगले मात्र हताश बनाएको अवश्यै पनि थिएन । तीन–चार प्रकारका रोगहरूलाई त उहाँले धेरै वर्षदेखि छुल्याहा आफन्तलाई जस्तै गरेर सँगसँगै लिएर हिँडिरहनु भएको थियो । रोगले उहाँलाई गलाउँन सक्ने कुरो थिएन । उहाँको पारिवारिक जीवनका पाटाहरूमा पनि उहाँलाई मानसिक रूपले भत्काउन सक्ने खालको कुनै दुर्घटना भएको जस्तो लाग्दैनथ्यो । त्यसै पनि लामो समयदेखि नेपाली राजनीतिका भीष्मपितामह र कांग्रेस पार्टीका सर्वमान्य नेता रहनुभएका सिंहका लागि निजी जीवनका सुख–दुःख र हर्ष–विस्मातको खासै ठूलो अर्थ कहिल्यै पनि रहेको थिएन । उहाँको सम्पूर्ण जीवन आम नेपाली जनताको हक–अधिकारको बहालीका लागि नेपाली कांग्रेस पार्टीद्वारा गरिँदै आएको संघर्षप्रति समर्पित थियो र त्यसलाई पूरा जोशका साथ निर्बाह गरिरहनु भएको थियो ।

एक छिनपछि सिंहले विस्तारै आफ्ना अर्धमुदित आँखा उघार्नु भयो र मेरो निन्याउरो अनुहारतिर लक्ष्य गर्दै भन्नुभयो, ‘अरे अधिकारीजी ! किन झोक्राउनु भएको ? मान्छेको जीवनमा माने निराशाका यस्ता क्षणहरू आइरहन्छन् बितेर पनि जान्छन् । माने मेरो जीवन पनि अहिले खराब दौरबाट गुज्रिरहेको छ । माने जीवनको रीत नै यस्तै छ ।’

मलाई सान्त्वता दिने निहुँमा आफ्नै घाइते मनलाई सुम्सुम्याएझैँ गणेशमानजीले भनेका यी कुराहरूले मेरो हृदयलाई झनै विचलित बनाइदिए । मैले आफ्नो अघिल्तिर आरामकुर्सीमा बसिरहेको उदाश आँखा भएको त्यो दुर्बलझैँ देखिने बूढो मानिसमा युवावस्थामा नै अनेक अद्भुत किस्सा–कहानीको नायक बनिसकेको उद्भट क्रान्तिकारी लौहपुरुषको प्रतिविम्ब खोज्ने प्रयास गरेँ । अहँ ! त्यहाँ वीर गणेशमानको धमिलो छायाँसम्म पनि थिएन ।

पहिलोपल्ट भेट्दा गणेशमान सिंहको शारीरिक व्यक्तित्वबाट कुनै पनि मानिस बिरलै प्रभावित हुँदो हो । होचो कद, श्याम वर्ण, चेप्टो नाक, उठेको निधार, अलिक धेरै फैलिएका झैँ देखिने ओठ – काठमाण्डौँको उच्चवर्गीय नेवार परिवारका कुलदीपक सिंह झट्ट हेर्दा नेपाल खाल्डोको मलिलो माटोमा पाखुरा चलाउने किसान अथवा ज्यापू परिवारको बलियो बाङ्गो सदस्यझैँ देखिनुहुन्थ्यो ।

उहाँलाई पहिलो पटक भेट्ने मान्छेको मनमा बडाकाजी रत्नमानको नाति भएर पनि सारा वैभव र सुख–सयल त्याग गरेर प्रजातान्त्रिक आन्दोलनमा होमिने र राणाशाहीको कडा पहराभित्र रहेको जेल तोडेर भाग्नसक्ने वीर गणेशमान उहाँ नै हो त ? भन्ने प्रश्न अनायास नै उठ्न सक्थ्यो । तर, उहाँलाई देखेर खिस्रिक्क परेको त्यो मान्छेको मनको आशंका त्यतिबेला तुरुन्तै पानीको फोकाझैँ बिलाएर जान्थ्यो जब उहाँ बोल्न थाल्नुहुन्थ्यो । सिंह ज्ञान र अनुभवका विशाल भण्डार त हुनुहुन्थ्यो नै प्रखर कथावाचक पनि हुनुहुन्थ्यो । छोटो–छरितो भाकामा बोल्ने उहाँको बानी थिएन तर श्रोतालाई पट्यार नलाग्ने गरी कसरी बोल्नुपर्छ भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा थियो । अनेक प्रकारका कथा–कुथुङ्ग्री, उक्ति, सुक्ति र फुँदाहरू गाँसेर जब उहाँ विस्तारै बोल्न थाल्नुहुन्थ्यो, श्रोतालाई घण्टौंघण्टा बितेको पत्तै हुँदैनथ्यो । उहाँ स्वयं लोमहर्षक साहसिक कहानीको नायक भएकाले उहाँका एकएक शब्द सत्यको उज्यालोबाट उद्भाषित हुन्थे । तिनमा जीवन र जगतको विशद अनुभव र त्यसलाई हेर्ने गहिरो अन्तर्दृष्टिको झलक पाइन्थ्यो ।

ध्येयप्रतिको अप्रतिम निष्ठा र अचुक भविष्यदृष्टि गणेशमान सिंहमा भएका दुई वटा सर्वाधिक महत्वपूर्ण गुणहरू थिए जसका वलमा उहाँले कालान्तरमा आधुनिक नेपालको इतिहासलाई नै नयाँ दिशातिर मोडिदिनु भएको थियो ।

ब्रह्मले देखेको कुरामा अलिकति पनि तलमाथि नपारी प्रष्ट शब्दमा भन्न सक्ने हक्की नेताका रूपमा पनि नेपालको राष्ट्रिय राजनीतिक वृत्तमा उहाँको धाक जमेको थियो ।

२०३६ साल जेठमा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत र बहुदलीय प्रणालीमध्ये एउटालाई रोज्न पाउने गरी राष्ट्रिय जनमत संग्रह लगभग एक वर्षपछि गराउँने घोषणा गरे । त्यतिबेला राजाको नियत सफा थियो कि थिएन भन्न सकिँदैन तर, जनमत संग्रहको व्यवस्थापनको जिम्मा पञ्चहरू मात्रै भएको प्रशासनका हातमा दिएर उनले त्यसको निष्पक्षतामाथि शुरूमै प्रश्नचिन्ह लगाइदिएका थिए । नेपाली कांग्रेसका सभापति र बहुदल पक्षका सर्वोच्च नेता बीपी कोइरालाले अतिशय आत्मविश्वासले गर्दा हुनुपर्छ, अनावश्यक लचकता देखाउनुभयो र जनमत संग्रह गराउने सरकारमा बहुदल पक्षलाई पनि सामेल गराउनुपर्छ भन्ने मागलाई छोड्नुभयो ।

त्यतिबेला गणेशमानजीले व्यावहारिक राजनीतिको कुरूप अनुहारलाई चिन्न आग्रह गर्दै पञ्चहरूद्वारा हुनसक्ने धाँधलीलाई रोक्नका लागि सरकारमा बहुदल पक्षलाई पनि सामेल गर्नुपर्ने शर्त राख्न बीपीलाई बारम्बार आग्रह गर्नु भएको थियो । यस मामिलामा कुन्नि किन हो, बीपीले गणेशमान सिंहको कुरो सुन्नु भएन । फगत त्यही एउटा कारणले गर्दा सजिलै प्राप्त हुनसक्ने राजनीतिक स्वतन्त्रता दश वर्षपछि धकेलियो । जनमत संग्रहमा पराजित भएपछि बीपीले गणेशमानजीसँग आफ्नो आँकलन गलत भएको स्वीकार त गर्नुभयो तर वीपीको त्यो स्वीकारोक्तिले स्थितिमा कुनै प्रकारको फरक पार्नसक्ने अवस्था थिएन । त्यतिबेलासम्म नेपाली राजनीतिले लिएको तत्कालीन गोरेटो उल्ट्याउँन नसक्ने गरी अघि बढिसकेको थियो ।

गणेशमानजीमा अप्रतिम सत्यनिष्ठा त थियो नै तत्कालिन नेपाली राजनीतिका प्रमुख खेलाडीहरूको नियत र सीमाका बारेमा पनि उहाँले सही दृष्टिकोण बनाउनु भएको थियो । उहाँले देशको राजनीतिक भविष्यको अनुहारलाई छर्लङ्ग देख्नु भएको थियो । त्यसैले हुनुपर्छ, उहाँले राजदरबारले नेपाली जनतालाई भिक्षादान दिएझैँ राजनीतिक स्वतन्त्रता दिनेछ भन्ने कुरामा कहिल्यै विश्वास गर्नुभएन । वि.सं. २०४२ सालमा उहाँकै जोडमा नेपाली कांग्रेस पार्टीले राजनीतिक हक–अधिकारको बहालीका लागि राष्ट्रव्यापी सत्याग्रह आन्दोलन गर्‍यो । त्यतिबेलासम्म भविष्यका शक्तिशाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला राजा वीरेन्द्रका भनाइमा लागेर ‘विकल्प खोज्ने’ अमूर्त अभियानमा देश दौडाहा गरिरहनुभएको थियो । पार्टीले सत्याग्रहको घोषणा गरेपछि त्यतिबेलाका महामन्त्री कोइराला पनि विकल्प खोजी अभियानलाई थाँती राखेर आन्दोलनमा सामेल भने हुनुभयो । त्यसो गर्नु उहाँको बाध्यता थियो शायद ।

नेपाली जनताको व्यापक सहभागितामा हुने हिंसारहित जनआन्दोलनका बलमा मात्र देशमा प्रजातान्त्रिक प्रणालीको पुनर्बहाली हुनसक्छ र त्यसको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्छ भन्ने कुरामा गणेशमान सिंह यति विश्वस्त हुनुहुन्थ्यो, उहाँले आफ्नो पार्टीले विधिवत् निर्णय लिनुभन्दा झण्डै एकवर्ष अघि नै २०४५ सालको मध्यतिरको एक दिन ‘अब देशमा प्रजातन्त्रको पुनर्बहालीका लागि राष्ट्रिय जनआन्दोलन हुनेछ र त्यसको अगुवाइ नेपाली कांग्रेसले गर्नेछ’ भन्ने उद्घोष गरिदिनु भएको थियो । बिना कुनै तयारी गरिएको जस्तो लाग्ने त्यस दिनको सिंह–गर्जनालाई न राजा वीरेन्द्रको दरबारले न त प्रतिबन्धित दलहरूले नै गम्भीरताका साथ लिएका थिए । तर, सबैको अनुमान विपरीत केही समयपछि नै मुलुकमा जनआन्दोलनको वातावरण उभारमा आएको देखियो । उन्मुक्त राजनीतिक परिवेशमा गहिरो स्वास लिन आतुर नेपालको पढे–लेखेको वर्गमा सिंहको नेतृत्व क्षमता र सूक्ष्म भविष्यदृष्टिको भूरी भूरी प्रशंसा हुन थाल्यो । नेपाली जनता उहाँको आह्वानमा प्राणको बाजी लगाउँन तयार भए ।

गणेशमान सिंह समयको नाडी छाम्न जान्ने मानिस हुनुहुन्थ्यो । आफूले आह्वान गरेको जनआन्दोलन आफ्नो पार्टी नेपाली कांग्रेसको बुतामा मात्र तात्विक निचोडसम्म पुग्न सक्दैन भन्ने कुराको उहाँलाई पू्रापूर हेक्का थियो । उहाँ कम्युनिष्टहरूलाई पनि साथमा लिन चाहनु हुन्थ्यो र त्यसका लागि उचित वातावरण पर्खिरहनु भएको थियो ।

विसं. २०४६ को असोज महिनामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सो वर्षको माघ ५, ६, र ७ गते सिंह निवास चाक्सीबारी, छत्रेपाटीमा पार्टीको महासम्मेलन गर्ने र त्यसैबेला राष्ट्रिय जनआन्दोलनको तिथि–मिति र कार्यक्रम तोक्ने निर्णय गरेपछि सो आन्दोलनमा कम्युनिष्ट घटकहरूलाई सहभागिताका लागि आह्वान गर्ने कि नगर्ने ? सामेल गराउने हो भने कसरी गराउने ? भन्ने विषयलाई लिएर पार्टीभित्र वाद–विवाद शुरु भयो । यस विषयमा गणेशमानजीमा भने कुनै द्विविधा, अन्यौल वा अस्पष्टता थिएन । उहाँ कम्युनिष्टहरूलाई साथमा त लिने तर कांग्रेसका तर्फबाट कुनै प्रकारको पहल नगर्ने पक्षमा हुनुहुन्थ्यो । कम्युनिष्टहरू आपसमा गोलबद्ध भएर आउँनु पर्छ भन्ने उहाँको एउटा मात्र शर्त थियो ।

नेपाली कांग्रेसले जन–आन्दोलन गर्ने घोषणा गरेको सन्दर्भमा ‘हाम्रो भूमिका के हुने हो?’ भनेर सोध्न कम्युनिष्ट नेताहरू पनि सिंह निवास चाक्सीबारी धाउन थालेका थिए । त्यसै सन्दर्भमा उहाँलाई भेट्न पुगेका पद्यरत्न तुलाधर, सहाना प्रधान, राधाकृष्ण मैनाली लगायतका कम्युनिष्ट नेताहरूलाई सिंहले प्रष्ट शब्दमा भन्नुभएको थियो, ‘तपाइँहरूसँग सहकार्य त गर्ने हो तर त्यस्तो सहकार्यका लागि सबैभन्दा पहिले तपाइँहरू आपसमा मिलेर, एकगठ भएर आउनु पर्दछ । हामीहरू टाउकैपिच्छेका पार्टीहरूसँग डिल गर्न त सक्दैनौँ नि ।’

त्यस दिन कांग्रेसका सर्वमान्य नेताले ती वामनेताहरूलाई सुनाएको त्यो गुरुमन्त्र कालान्तरमा गएर नेपाली कम्युनिष्ट आन्दोलनलाई यति विशाल आयतनमा फैलिन मार्गप्रशस्त गर्ने देववाणी नै सावित भयो भने पनि हुन्छ । सिंहको सल्लाहमा २०४६ सालको पुस महिनामा श्रीमती सहाना प्रधानको संयोजकत्वमा गठन भएको संयुक्त वाममोर्चा नै अहिलेको विशाल सत्तासीन दल नेकपा एमालेको आधारशिला बनेको थियो ।

गणेशमानजीको गौरवशाली अतीतका केही क्षणमा एकैछिन अल्मलिएर म वर्तमानको कठोर धरातलमा उत्रिँदा उहाँ आरामकुर्सीमा ढल्किएर निदाइरहनु भएको रहेछ । हिउँदको मन्द शीतोष्ण बिहानीको मनोरम छटा चारैतिर फैलिएको थियो । शान्त, सन्तुष्ट मुद्रामा आराम गरिरहेको आफ्नो युगको त्यो अविश्रान्त नायकको निर्धो अनुहार देख्दा मलाई हाम्रो समयका उज्याला, अँध्यारा, अगणित धर्साहरू एकै ठाउँमा सोहोरिएर तिनले समसामयिक नेपाली समाजको एउटा अवोधगम्य कोलाज बनाइरहेको जस्तो लाग्यो ।

प्रजातन्त्रका लागि आजीवन लड्न तयार, प्रधानमन्त्रीको पद पनि सहर्ष त्याग्नसक्ने, निरभिमानी र सरल हृदय गणेशमानजीले नेपाली कांग्रेस, यो देश र जनताका अहितमा के चाहिँ गर्नुभएको थियो र उहाँ हत–मनोबल, आहत– हृदय, हताश र विचलित मनस्थितिमा अन्तिम घडीको लामो प्रतीक्षा गर्न बाध्य हुनुभएको छ भन्ने प्रश्नले मलाई धेरै बेरसम्म अठ्याइरह्यो ।

उहाँसँग मेरो अन्तिम भेटघाट त्यही थियो । त्यस घटनाको पौने दुई वर्षपछि विक्रमको २०५४ साल असोज २ गते हाम्रो युगका अप्रतिम महानायक सिंहले महाप्रस्थान गर्नु भएको थियो ।

प्रतिक्रिया