सोमबार, असोज १७, २०७९

राष्ट्र बैंकले माग्यो अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली २०७९ को लागि सुझाव

नेपालखोज २०७९ असोज ६ गते १८:३३

काठमाडौं । नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ कार्यान्वनको लागि सुझाव माग गरेको छ । राष्ट्र बैंकले बिहीबार सम्पूर्ण सरोकारवाला निकायहरुको नाममा परिपत्र जारी गर्दै सुझाव माग गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ को उपदफा (१) को खण्ड (ज) मा नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकार अन्तर्गत वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने भन्ने उल्लेख रहेको र सोही ऐनको दफा ४९ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा कार्य गर्नुपर्ने अवस्थामा आफ्नो भूमिका निर्वाह गर्न वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरि यो विनियमावली तर्जुमा गरि लागु गरिएको हो, मस्यौदामा भनिएको छ ।

राष्ट्र बैंकको अनुसार अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ लागु गर्नुको उदे्श्य इजाजतपत्रप्राप्त संस्थाले अन्तर बैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पुरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिंग प्रणाली प्रति सर्वसाधारणको विश्वसनियतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रुपमा राष्ट्र बैंकले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु रहेको छ ।

अन्तिम ऋणदाता सुविधा प्रदान हुनसक्ने अवस्थमा कुनै एक वा एकभन्दा बढी अवस्थामा आफ्नो दायित्व पूरा गर्न समर्थ नभएको कारण देखाई इजाजतपत्रप्राप्त संस्थाको संचालक समितिले अन्तिम ऋणदाता सुविधाको लागि राष्ट्र बैंक समक्ष अनुरोध गरेमा र त्यस्तो अनुरोध मनासिव लागेमा समितिको निर्णय बमोजिम राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गर्न सक्ने छ ।

यस अन्र्तगत बैंक वा वित्तीय संस्थाले अन्तर बैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा, बैंक वा वित्तीय संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नस्कने अवस्था भएमा, ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई बैंक वा वित्तीय संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा, बैंक वा वित्तीय संस्थाले प्रतिवद्धता जनाईसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा, कुनै एक बैंक वा वित्तीय संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धरासायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा, बैंक वा वित्तीय संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनियतामा कमी आउन सक्ने भएमा, प्राकृतिक प्रकोपको कारण बैंक वा वित्तीय संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट बैंक वा वित्तीय संस्था आफ्नो तत्कालको दायित्व पुरा गर्न असमर्थ भएमा वा इजाजतपत्रप्राप्त संस्थाले आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थ व्यवस्था तथा वित्तीय प्रणालीमा चुनौति सृजना हुन सक्ने भएमा अन्तिम ऋणदाता सुविधा लिन सकिने छ ।

राष्ट्र बैंकका अनुसार अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउँदा इजाजतपत्र प्राप्त संस्थाको वित्तीय विवरणमा देखाइएका सम्पत्तिलाई विश्वासको आधारको रुपमा लिई ऐनको दफा ४९ को उपदफा (१) बमोजिमका देहायका जायजेथालाई सुरक्षणको रुपमा लिइने छ ।

ऐनको दफा ६६ को उपदफा (१) को खण्ड (ङ) मा उल्लेख भए बमोजिमको अन्तर्राष्ट्रिय विनिमय अधिकारपत्र, नेपाल भित्र भुक्तानी हुने गरी नेपाल सरकारबाट जारी भएको ऋणपत्र, राष्ट्र बैंकमा जम्मा रहेको निक्षेप वा ऐनअन्तर्गत राष्ट्र बैंकले कारोबार गर्न सक्ने सुन तथा बहू मूल्य धातु, ऐनको दफा ४८ को उपदफा बमोजिमका विनिमयपत्र वा प्रतिज्ञापत्र, सरकारले दिएको प्रचलित बजार दरको सुरक्षणपत्रको ग्यारेन्टी, इजाजतपत्रप्राप्त संस्थाको असल कर्जा, विविध लगानी तथा आसामी समितिले उपयुक्त ठानेका अन्य सुरक्षणपत्र धितो लिएर अन्तिम ऋणदाता सुविधा दिन सक्ने छ ।

राष्ट्र अन्तिम ऋणदाता सुविधा लिनको लागि बैंक वा वित्तीय संस्थाको संचालक समितिले यस व्यवस्थाअन्तर्गत ऋण माग गर्नु पर्नाको कारण, आवश्यक पर्ने रकम र सोको भुक्तानी योजनासम्बन्धी निर्णय गरी राष्ट्र बैंक समक्ष अनुसूची–१ को ढाँचामा देहायको विवरण संलग्न गरी निवेदन पेस गर्नुपर्ने छ । यसको लागि आगामी ६ महिनाको नगद प्रवाह प्रक्षेपण (पहिलो ४ साताको लागि दैनिक नगद प्रवाह प्रक्षेपण र ४ सातापछि ६ महिना सम्म साप्ताहिक नगद प्रवाह प्रक्षेपण आवस्यक पर्ने छ ।

प्रतिक्रिया