इटहरी-धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

नेपालखोज २०७९ असोज ७ गते १७:५०

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी-धरान जोड्ने ४९ किलोमिटर ६ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ ।

सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले भने सास्ती खेप्दै आएका छन् । ‘सडक खाल्डाखुल्डी र धुलोले गर्दा गाडीको बिग्रिरहन्छ,’ चालक सुरज लम्सालले भने । नौ दशमलव पाँच किलोमिटर सडकखण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेको छ । तर सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्ने गरेका छन् ।

ट्राफिक प्रहरी प्रदेश १ इटहरीका अनुसार पछिल्लो एक वर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना गम्भीर र अन्य ६३ जना सामान्य घाइते भएको १ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्यांक नै छ । सडक निर्माणमा लापरवाही र ढिलाइ भएकै कारण दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसरी दुर्घटना बढेपछि केही दिनअघि धरानका स्थानीयवासीले छ लेन सडक विस्तार आयोजना, ठेकेदार कम्पनीलगायतको ध्यानाकर्षण गराएका थिए ।

अझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामी लिएर जाने-आउने एम्बुलेन्सलाई समेत ढिलाइ हुने गरेको छ । जसको असर विरामीलाई नै पर्ने गरेको छ । बर्खाको समयमा खाल्डाखुल्डी हुँदा पानी जम्ने भएकाले गर्दा धेरै नै समस्या भइरहेको सवारी चालकहरूको अनुभव छ ।

जङ्गल क्षेत्रमा अहिले रानी-धरान छ लेन सडक अयोजनाको दुईवटा ठेक्का सञ्चालनमा छन् । तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् प्यासिफिक जेभीले ठेक्का पाएको छ । सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्स्ट्रक्सनको ठेक्का पाएको छ । सडकको दुवै साइडमा बाटो फराकिलो बनाइएको छ । तर बाटोमा थुपारिएको निर्माण समाग्रीले सडक अस्तव्यस्त बनेको छ ।

पछिल्लो समय सडक निर्माणका लागि विसं २०८० सम्म समयावधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी छ । छ लेन आयोजनाले इन्धनदेखि निर्माण सामग्रीमा मूल्यवृद्धिको असरका कारण काम सुस्त भएको जिकिर गरेको छ । ठेक्का सम्झौता हुँदा निर्माण शुल्कले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै ठेकेदार कम्पनीहरुको कन्स्ट्रक्सन होलिडे आन्दोलनका कारण काम अड्किएको लेन सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए । उनका अनुसार सडक निर्माण सुस्त हुनुमा सामग्रीमा भएको मूल्यवृद्धिले समेत असर पारेको छ ।

ठेकेदार कम्पनीको समस्या समाधान गरेर दशैँलगतै अब पिचको काम अघि बढ्ने समेत उनले बताए । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ । दुहवी बजार र इटहरीको विराटनगर लाइनमा पनि सडक विस्तार गर्न बाँकी छ । दुहवी बजार क्षेत्रको भने घर जग्गा खाली नभएकाले विस्तार हुन सकेको छैन ।

दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रका रुपमा कायम गर्ने निर्णय गरेको थियो । त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअुनसार दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७-२७ फिट मात्र कायम गरिएको थियो ।

त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ । आर्थिक वर्ष ०६९/०७० देखि सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो पटक समय थप गरिएको छ । पूरै सडक निर्माण गर्दा शुरुमा १० अर्ब ९८ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । -रासस

प्रतिक्रिया