बिहीबार, वैशाख १३, २०८१

‘नेपालमा अझै पनि लेखेर बाँच्न सक्ने अवस्था छैन’

नेपालखोज २०७९ असोज ९ गते १४:४९

कवि तथा साहित्यकार भीष्म उप्रेती २०२४ माघ १३ गते झापाको शनिश्चरे ३, कालीस्थान (हाल अर्जुनधारा नगरपालिका ९ कालीस्थान) जन्मिएका हुन् । झापामा मिडिल स्कुल पढ्दा अन्तर्राष्ट्रिय बाल वर्षमा भएको राष्ट्रव्यापी बालकविता प्रतियोगितामा उनको मातृभूमि शीर्षकको कविता उत्कृष्ट भएको थियो । उप्रेतीको पहिलो प्रकाशित रचना भने नेपाल राष्ट्र बैंकबाट प्रकाशित हुने मिर्मिरे पत्रिकामा २०४५ कात्तिकको अङ्कमा प्रकाशित मैले माया गरेँ भन्ने शीर्षकको कविता हो । प्रस्तुत छ उनै कवि तथा साहित्यकारसँग नेपालखोजका लागि शुभद्रा ढकालले गरेको कुराकानीको अंश :

तपाईंका प्रकाशित कृतिहरू कुन–कुन हुन् ?
नेपाली भाषामा मेरा २१ वटा कृति प्रकाशित छन् । तीमध्ये कविताका कृतिहरू : आकाश खस्यो भने के हुन्छ ? समुद्र र अन्य कविताहरू, प्रेमको प्रतिध्वनि, कवितामा पहाड, अक्षरवर्षा, तिनाउ नदी र बूढो रूख, काठमाडौँ र अझ पर ः एक बदलिँदो तस्बिर र आधा उज्यालो हुन् । निबन्धसङ्ग्रहहरूमा ः हिँड्दै गर्दा, हतार छैन हतार छ र तपाईंको पहाड कहाँ हो ? हुन् भने नियात्रासङ्ग्रहहरूमा यात्राका केही थुंगा पूmल, नीलो पानी र नीला भावनाहरू, घर फर्कने दिन, तेहरान डायरीका एक साता, एकपटक टोकियो, लहरलहरका अक्षरहरू, अन्नपूर्ण फेरो र हिमाल, शेर्पा र यती हुन् । यी कृतिहरूबाहेक मेरो पाइला नामको उपन्यास प्रकाशित छ भने अन्य तीनजना मेरो पुस्ताका निबन्धकारहरूसँगको सहकार्यमा एउटा संयुक्त निबन्धसङ्ग्रह समेत प्रकाशित छ ।
मेरो पाइला पाइला उपन्यास सिँहाला भाषामा श्रीलङ्का र अङ्ग्रेजी भाषामा नयाँदिल्लीबाट प्रकाशित भएको छ भने समुद्र र अन्य कविताहरू जापानी भाषामा प्रकाशित छ । नियात्रासङ्ग्रह अन्नपूर्ण फेरो सर्बियाली भाषामा प्रकाशित छ, नीलो पानी र नीला भावनाहरू अङ्ग्रजी भाषामा प्रकाशित छ । मेरो चुनिएका कविताहरूको सङ्ग्रह लेट मि बि अ बर्ड फारसी भाषामा काबुलबाट र टर्किस भाषामा अङ्काराबाट प्रकाशित छ । कल फिर सबेरा होगा नामको मेरो हिन्दी कवितासङ्ग्रह रश्मि प्रकाशन लखनौबाट प्रकाशित छ ।

तपाईंको पहिलो रचना कुन हो र कहाँ प्रकाशित भयो ?
मेरो पहिलो रचना मैले झापामा मिडिल स्कुल पढ्दा अन्तर्राष्ट्रिय बाल वर्षमा भएको राष्ट्रव्यापी बालकविता प्रतियोगितामा पुरस्कृत भएको मातृभूमि शीर्षकको कविता थियो । त्यो कतै प्रकाशित भएको मलाई सम्झना छैन । तर मेरो पहिलो प्रकाशित रचना भने नेपाल राष्ट्र बैंकबाट प्रकाशित हुने मिर्मिरे पत्रिकामा २०४५ कार्तिकको अङ्कमा प्रकाशित मैले माया गरेँ भन्ने शीर्षकको कविता हो ।

तपाईं आफैंलाई मन परेको आफ्नो पुस्तक कुन हो ?
यो प्रश्नको जवाफ दिन मलाई कठिन हुन्छ किनभने म पुस्तकको प्रकाशन सोचविचार गरेर नै गर्ने गर्दछु । तुलनात्मक रूपमा सुरुसुरुका रचनामा काल्पनिकता र भावनात्मक पक्ष बढी होलान् र पछिपछिको रचनाहरूमा अनुभवले दिएका अनुभूतिहरू बढी होलान् । सबैका रचनामा हुने यही नै हो । रुचि र दृष्टिकोण पनि उमेर, अनुभव र ज्ञानको कारण सधैँ एउटै रहँदैनन् ।

साहित्यबाहेक तपाईं कुन पेसामा संलग्न हुनुहुन्छ ? हुनुहुन्थ्यो ?
पेसागत रूपमा मैले विभिन्न जिम्मेवारीमा रहेर नेपाल राष्ट्र बैंकमा ३१ वर्ष काम गरेँ । ५० वर्षको उमेर टेक्नासाथ राष्ट्र बैंकले अनिवार्य अवकाश दियो । म अहिले आंशिक रूपमा नेसनल कलेज, धुम्बाराहीमा शिक्षण गर्दछु । बाँकी समय मेरो आफ्नो हो । यात्रा, लेखन, अध्ययन, अनुवाद, सम्पादन आदि कामहरू चाङ लागेर बसेका छन् मेरा अघि ।

भीष्म उप्रेतीका किताब पाठकले किन पढ्ने ?
भीष्म उप्रेतीले बाँचेको समय, देखेको र बुझेको दुनियाँ र तिनबाट प्राप्त अनुभूतिहरू जान्न र तीबाट आफ्नो जीवनमा पनि केही प्रकाश प्राप्त होस् भन्ने उद्देश्यले मेरा किताबहरू पढ्ने हो । मैले जे र जसरी अनुभव गर्दछु र तिनलाई मेरो किसिमले व्यक्त गर्दछु ती कुरा पाठकले मेरा किताबमा भन्दा बाहेक अरू कसैका किताबबाट प्राप्त गर्दैनन् । अनुभूति, बुझाइ र दृष्टिकोण निजी हुन्छ, अनुभूतिको अभिव्यक्तीकरणसमेत निजी हुन्छ । जतिसुकै दुःख, निराशा र समस्यामा रहेको भए पनि जीवनलाई हेर्ने सकारात्मक दृष्टि बनाउन र जीवनप्रति सधैँ प्रेमी बन्न मेरा किताबहरू पढ्नुहोस् भन्दछु ।

तपाईंका कवितामा चिन्तनभन्दा बढी चिन्ता भेटिन्छ किन ?
मैले कविता लेख्न थालेको धेरै वर्ष बित्यो । पछिल्लो समयमा विज्ञान प्रविधिको कारणले सबैको कुराको छिटोछिटो विकास हुँदै गयो । अहिलेको सययमा थोरै मान्छेले मात्रै कविताका लागि समय छुट्याउँछन् । प्रायः एकेडेमिक मान्छेले मात्रै कवितालाई विशेष रूपमा लिन्छन् । मलाई लाग्छ कवितालाई थप जटिल बनाइरहन आवश्यक छैन ।
कविताभन्दा बढी जटिल हाम्रो जीवन छ । त्यसर्थ हामीले कवितालाई सरल र सहज बनाउनुपर्छ । मैले आजभन्दा बीस वर्ष अगाडि लेखेको कवितामा आज हेर्दा निकै परिवर्तन देख्छु । भने त्यसमा परिवर्तन म आफैंले देख्दै छु २० वर्ष अगाडि प्रकृतिको धेरै कुरा लेख्थेँ भने लेख्न त म अहिले पनि प्रकृति लेख्छु प्रकृतिसँगको हाम्रो अनुभूति, अनुभव र आवश्यकताहरूलाई बढी मिसाएर लख्छु ।

साहित्य लेख्न अध्ययनको जरुरी हुन्छ कि हुन्न ?
अध्ययन र अनुभनवले दृष्टिकोणलाई फराकिलो बनाउँछ । जीवनका धेरै अनुभव गर्दा कतिपय ठाउँमा सुखद हुन्छ भने कतिपय ठाउँमा दुखद अनुभव हुन्छ । कतिपय अवस्थामा असन्तृष्टि अभाव हुन्छन् यी सबैले कुराले केही न केही सिकाउँछन् । अर्बौं कविता पढ्छौं तर योचाहिँ कविता बिग्रियो जस्तो लाग्छ । शब्दहरूमाथि आफूले व्यक्त गर्न लागेका शब्दहरूमा कविको नियन्त्रण हुुनुपर्छ शब्दहरूले कविलाई नियन्त्रण गर्न सक्नुपर्छ । अनाश्यक शब्द थुपार्दैमा कविता हुन सक्दैन । कविता लेखनका लागि अध्ययन पनि उत्तिकै आवश्यक छ ।

अहिलेको पुस्ताले लेखेको साहित्य र हाम्रो समाजले लेखेको साहित्यमा तपाईं कतिको सन्तृष्ट हुनुहुन्छ ?
म अहिले नै सन्तृष्ट भएँ भने अब लेखिने बाँकी कविताको सवाल के नै बाँकी रहन्छ र ? म कहिलेकाहीँ सन्तृष्ट हुन्छु तर सधैँका लागि सन्तृष्ट हुन सक्दिनँ । एउटा राम्रो कविता लेखियो भने केही समयका लागि सन्तृष्ट हुन सकिन्छ । हामी सबै चीजले पूर्ण छैनौँ सबैमा एउटा न एउटा सीमा छ । हामी सदैव भएको चिजभन्दा राम्रो बनाउन खोज्छौँ सधैँ सन्तृष्ट हुन सक्दैनौँ र कविता लेखिरहन्छौं ।
वैदिककालमा हाम्रो सनातन परम्परामा चाहिँ साहित्य भनेको कवितै थियो । त्यतिबेला गद्य त्यति लेखिँदैनथ्यो हामीले सबै चिज हेर्यौं भने र अभिव्यक्तिको माध्यम भनेको वेद कविता हो महाभारत कविता हो, रामायण कविता हो । त्यो बेलाको जुनसुकै कुरा कविता हो ।
साहित्य अभिव्यक्तिको माध्यम त्यो कविता हो तर समाज सधैँ एउटै रहँदैन समय पनि रहँदैन खोज अनुसन्धान गर्दा जाँदा नयाँनयाँ चिज आयो । समय परिवर्तन गर्दै जाँदा नयाँ विकास भयो । यातायात र सञ्चारको विकास हुँदै गएपछि एक ठाउँ र अर्को ठाउँ जोडियो ।
जोडिएपछि विचार लेखन सबै आदानप्रदान भयो । एउटाबाट अर्कोले सिक्ने अवस्था पनि भयो । युद्धहरूले पनि एक प्रकारको सम्पदालाई नष्ट गरेर नयाँ बनाउने काम गरे । प्राचीन कतिपय सम्पदाहरूलाई युद्धले ध्वस्त बनाएर नयाँ निर्माण गर्यो ।
१९९० को हाराहारीमा आएर गद्यमा कविता लेखन सुरु भयो त्यसभन्दा अगाडि पद्यमा मात्रै कविता लेखिन्थ्यो । २०१५/१६ पछि पद्य कविता मौलाएर आयो । त्योभन्दा अगाडि लेखनमा पद्य कविताको बहुमत थियो । अनुभूतिलाई एकदमै सजिलोसँग अनुभूति गर्न सकिने भयो । कविता चित्र र बिम्ब बढी हुन्छ कवितालाई सोझो हिसाबले भनिँदैन । त्यसकारण त्यो बेलादेखि अहिलेसम्म लेख्ने शैलीदेखि लिएर सबै कुरा परिवर्तन भयो । त्यसबेलाका केही ग्रन्थ्रहरू अहिले पनि हाम्रो आदर्श हुन् । त्यही तहमा अहिले निकै कम लेख्न सकिन्छ ।

यसको मतलब अहिले व्यक्तिलाई निर्देशन र निर्देशित गर्न सक्नेखालको साहित्य लेख्न नसकिएको भन्न खोजिएको हो ?
अहिलेचाहिँ कस्तो छ भने निर्देशन साहित्यले सोझै निर्देशन गर्न मिल्दैन भन्ने थट पनि छ । प्रत्यक्ष रूपले तर अप्रत्यक्ष रूपले भनम् न तपाईंले यसो गर्नुपर्छ भन्ने होइन त्यो तपाईंको आख्यान पढिसकेपछि यसो पनि गर्नुपर्ने रैछ तपाईंले नभनीकनै रियलाइज गर्ने सहित्यचाहिँ अहिले हामीलाई चाहिन्छ । त्यो भयो भनेचाहिँ तपाईंले स्वीकार गर्नुहुन्छ मैले स्वीकार गर्छु ।

अहिले कविताका विभिन्न रूप कविताका उपविधाहरू गजल हायकु, मुक्तकलगायत विधाहरू बन्दै गएपछि कविता कमजोर हुँदै गएको हो ?
उपविधाका कारण कविता कमजोर हुन्छ भन्न मिल्दैन । किनभने त्यो हाम्रो सम्पदा हो शक्ति हो । सोच सबै मान्छेसँग हुन्छ । कसैले गजल एकदमै राम्रो लेखिराको हुन्छ । अर्को कुरा लेख्न सिकिरहेको हुँदैन कसैले कविता एकदमै राम्रो लेख्न सक्छ । लेख्न चाहने मान्छेले आफूलाई सबैभन्दा बलियो कुन विधामा हुन्छ त्यही अवसर हो त्यसकारण यसलाई विकासका रूपमा लिनुपर्छ । शक्तिशाली र कमजोर रचना सबै कालमा हुन्छ ।

अहिलेका कविहरू वादको पछाडि लागेका छन् भन्ने सुनिन्छ यसलाई कसरी लिनुहुन्छ ?
अहिले कस्तो हो भने तपाईंले भनेजस्तो असहिष्णुता नेपाली कवितामा साहित्यमा ०६२/६३ को आन्दोलनपछाडि एकदमै असहिष्णुता थियो । अर्कालाई नस्वीकार्ने, बाहिष्कार गर्ने, म नै सबै हुँ भन्ने खालको थियो । तर त्यो छोटो समय रह्यो । विस्तारै सबैले महसुस गरे यो होइन रहेछ भन्ने यसरी धेरै समयसम्म जान सकिँदैन । आफू स्वीकृत हुन अर्कालाई पनि स्वीकार गर्नुपर्ने रहेछ भन्ने कुरा अहिले आयो नि । त्यो जुन उग्रता उबेला देखिएको थियो अहिले छैन । तिनै कविहरूले जसले बोकेर हिँडनुहुन्थ्यो अहिले धेरै फराकिलो भएर आउनुभएको छ । मिलेर काम गरिरहनुभएको छ यस्तो खालको चाहिँ र अहिले कम छ । अहिले सबैतिर राजनीति प्रभाव देखिएको छ त्यो कारणले पनि बेलाबेला तर त्यो विस्तारै कम भएर कलामा फर्केने आफ्ना कुरा लेख्ने अन्तर्क्रिया गर्ने जुन चलन विस्तारै बढ्दै गएको छ । योचाहिँ मलाई मन पर्छ अहिले धेरै त्यस्तै भएको छ । वादको कुरा छ नि योचाहिँ राजनीति हो धेरै समय टिक्दैन । गुट समूह बनाउने र एउटै समूहभित्र रहेर प्रचार गर्ने माध्यम धेरै भए । यो पनि धेरै टिक्दैन । जसको रचनामा संवेदनशीलता छ जसको रचनामा अर्थ छ अरूलाई चित बुझ्न सक्ने विचार दर्शन छ भने दीर्घकालमा गएर तिनै टिक्ने हुन् । अहिलेको समसयमा किताब रचना प्रकाशन हुन सजिलो छ तर सबै मान्छेकोमा पुग्न एकदमै गाह्रो छ । छोटो समयका लागि राजनीतिक प्रभावले गर्दा वादहरू पनि बने । समाजका कतिपय समुदायका मान्छेहरू धेरै वर्ष अधिकारविहीन बनाएर राखे । उनीहरूले अहिलेको समयमा आफ्नो अधिकार के हो भन्ने कुरा राम्रोसँग बुझे । प्रचार–प्रसार भयो र सूचना र सञ्चारको पनि प्रभाव पर्यो । चेतनाको स्तर पनि फराकिलो भएर गयो यो अवस्थामा उनीहरूले आफ्नो कुरा आफूले मात्रै भन्नुभन्दा समूहमा भन्दा आवाज ठूलो हुन्छ । त्यसैकारणले पनि कतिपय समूह बनेको देखिन्छ । जो शक्ति विचार र कलाले भरिएको लेखक छ उसलाई कुनै पनि वादको आवश्यकता पर्दैन ।

नेपालमा लेखेर बाँच्न सक्ने अवस्था छ कि छैन ?
साहित्य लेखेर नेपालमा बाँच्न सक्ने लेखक छ जस्तो मलाई लाग्दैन । लेखकले बाहिर केही देखिएन भने पनि घोस्ट राइटिङ गर्छ । लेखकहरूमध्ये कसैले कलेज पठाउँछन् कसैले सम्पादन गर्छन् । अहिलेको अवस्थामा कोही पनि लेखेर बाँच्न सक्छ जस्तो लाग्दैन । अबको केही वर्षसम्म पनि नेपालमा लेखेर बाँच्न सक्ने अवस्था सिर्जना हुन्छ जस्तो लाग्दैन ।

जागिर जीवन र लेखक क्षेत्रलाई जोडेर हेर्दा कस्तो लाग्छ ?
आनन्द र सन्तृष्टि नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तर मेरो लेखनलाई चाहिँ जागिरले पनि एकदमै सहयोग गर्यो ।
धेरैले पारिवारिक जिम्मेवारी नभएको भए म अझ धेरै लेख्न सक्थें भन्नुहुन्छ तर म भन्छु समय भयो भन्दैमा साहित्यिक लेखन आउने होइन । कति मान्छेको जीवनम कति धेरै तनाव छ तर ती सबैले लेख्न सकेका छैनन् । सम्पन्न लेखकहरू पनि छन् तर खै त तिनीहरूले उत्कृष्ट रचना लेख्न सकेका छन् त ? जसलाई रोजगरीको समस्या छैन पुगिसरी आको छ ती कति मान्छे लेखक भएका छैनन् । अर्को केही मान्छे लेखक भए पनि अर्को कुनै काम गर्दै लेखेर उत्कष्ट तहको रचना दिन सकेका छैनन् त्यसैले यो रचना दिन सक्ने कुरा भनेको अर्कौ पक्ष हो । अरू बाँकी जीवन चलाउन गर्ने काम अर्कै पक्ष हो । मलाई यो जागिरले लेख्न सहयोग गर्यो । राष्ट्र बैंकमा थिएँ । बाँच्नका लागि मैले अर्को काम गर्नु परेन त्यसकारण बाँकी समय मलाई सहयोग भयो देश–विदेशको विभिन्न काममा राष्ट्र बैंकबाट जाँदा मलाई यसले लेखनमा निकै सहयोग पुर्यायो । फुल–टाइम लेखकले मात्रै राम्रो लेख्न सक्छ भन्ने मलाई विश्वास लाग्दैन ।

अन्त्यमा आफ्ना पाठकलाई के भन्न चाहनुहुन्छ ?
मलाई अझै पनि मेरा पाठकलाई काम लाग्ने कुरा दिउँ दर्शन र ज्ञानका कुरा दिउँजस्तो लाग्छ । म त्यही कोसिसमा छु । कोसिसले नयाँनयाँ चिज आउँछ । हामी कोही पनि पूर्ण छैनौँ तर पूर्णताको खोजी भने सधैँ रहन्छ । त्यो प्रयास जारी छ । मिडियालाई मात्र पूर्ण विश्वास नगर्नुस्, पठनसंस्कृतिलाई महत्त्व दिनुस् पुस्तकले धेरै कुरा सिकाउँछ । धेरै ठाउँमा डुलाउँछ । त्यसकारण पाठकलाई धेरैभन्दा धैरै पुस्तक पढ्न अनुरोध गर्दछु ।

प्रतिक्रिया