पहिलोपटक ‘नेपाल ग्रिन हाइड्रोजन समिट’ हुँदै

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हाँसिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूल पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलोपटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनएचजीएस)’ आयोजना हुने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते तदनुसार अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी बृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो । एमआईटी ग्रूप फाउण्डेशन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समिटको आयोजना गर्न लागेका हुन् ।
ताहाचलस्थित होटल सोल्टी काठमाडौँमा आयोजना हुने सम्मेलनको मुख्य सार ‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिँदै गरेका हिमालहरूका लागि एन्टीडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भन्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ ।
नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । त्यस अर्थमा पनि यो हरित हाइड्रोजन सम्बन्धी पहिलो सम्मेलन हो । सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने उद्देश्य लिइएको छ । योसँगै नेपालमा पर्यावरणीय रूपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ ।
सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदारका प्रतिनिधि, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया