कतार विश्वकप आफ्नो लागि अन्तिम हुने मेस्सीको भनाइ

अर्जेन्टिना । अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि ‘निश्चित रूपमा’ अन्तिम हुने बताएका छन् ।
पेरिस सेन्ट जर्मनका पैँतीस वर्षीय फरवार्डले अर्जेन्टिनाको तर्फबाट चार पटक विश्वकप खेलिसकेका छन् । सो क्रममा १९ खेलमा उनले छवटा गोल गरेको र थप पाँच गोलका लागि सघाएको देखिन्छ ।
सन् २०१४ मा अर्जेन्टिनालाई उनले उपविजेताको उपाधि दिलाए भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाए ।
मेस्सीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ । ‘निश्चित रूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ,’ उनले भने । ईएसपीएनसँग कुरा गर्दै मेस्सीले थपे, ‘मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ ।’
सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेस्सीले अर्जेन्टिनाका लागि कूल १६४ खेलमा ९० गोल गरेका छन् । फिफाको वरीयता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा रहेको छ।
नोभेम्बर २० तारिखबाट शुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा अर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ । ‘विश्वकपमा जे पनि हुनसक्छ । सबै प्रतिस्पर्धा कठिन हुन्छन् । लोकप्रिय टोलीहरूले सधैँ जित नै निकाल्छन् भन्ने हुँदैन,’ मेस्सीले भने ।
प्रतिक्रिया