शुक्रबार, वैशाख २६, २०८२

धारा नेपालगन्ज र देहरादुन म्याराथनबीच के भयो सम्झौता ?

नेपालखोज २०७९ असोज २२ गते १९:२७

काठमाडौं । धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

दुवै विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो ।

सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि सारमंग देहरादुन म्याराथन रेश डाइरेक्टर अनिल मोहनले खुशी व्यक्त गरेका छन् ।

‘एशियाका दुई सहरमा हुने प्रतिष्ठित म्याराथनहरुबीच एकअर्कालाई सहयोग गर्ने उद्देश्यले सम्झौता गर्न पाउँदा धेरै खुशी छौँ। यस सम्झौताले म्याराथन पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौं ।’ उनले भनेका छन्, ‘उत्तराखण्ड र नेपाल दुवैको पहाडी रहनसहन, संस्कृति र भौगोलिक बनोट समानता छ । हामी नेपालबाट आउने धावकहरुलाई स्वागत गर्न सदैव आतुर रहनेछौं ।’

सारमंग देहरादुन म्याराथन यही अक्टोबर १६(मंसिर ३० गते) हुनेछ । धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण भने मंसिर २४ गते हुनेछ । देहरादुन म्याराथनसँग सहकार्य गर्न पाउँदा नेपालगन्ज म्याराथनका संस्थापक/अध्यक्ष टीएस ठकुरीले धार्मिक पर्यटनमा समेत ठुलो टेवा पुग्ने बताए । ‘अधिकांश हिन्दु धर्मावलम्बीहरुका लागि हरिद्वार, ऋषिकेस ठुलो तीर्थ स्थल हो, नेपालगन्जस्थित बागेश्वरी शक्तिपीठ पनि उत्तिकै महत्वपुर्ण हो ।’

एक दशक लामो सशस्त्र द्वन्द्धलाई औपचारिक विश्राम दिन नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै विगत आठ बर्षदेखि हरेक मंसिरको पहिलो शानिबार नेपालगन्ज म्याराथन हुँदै आएको छ । यसवर्ष आम निर्वाचनका कारण मंसिर २४ गते म्याराथन हुनेछ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथन यस वर्ष भने आम निर्वाचनका कारण मंसिर २४ गते आयोजना हुनेछ ।

नेपालगन्ज म्याराथनको वेभसाइटwww.nepalgunjmarathon.com मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । गत बर्ष झैं यस बर्ष पनि विभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ ।

पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमूह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।

स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सदभावको सहर हो । देशको संघीय संरचनामा नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेश द्वार पनि हो ।

सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ वर्ष अघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो । नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए ।

त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।

त्यसैगरी पहिलो संस्करणमा एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुन् ।

प्रतिक्रिया