नेपालको कवाडी बजारमा भारतीय नागरिक

नेपालखोज २०७९ असोज २६ गते १७:०७

मोरङ । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान संकलन गरिरहेका छन् । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी संकलन केन्द्र रहेका छन् । सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा ६ कवाडी संकलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक भारत विहारकै समी जैसवाल छन् । संकलकले गाउँसहरका विभिन्न भागबाट सङ्कलन गरी ल्याएको कागज प्रतिकिलो २० रुपैयाँ, धातुजन्य सामान प्रतिकिलो ५५ रुपैयाँ, गाडीका पुराना टायर दुई सय रुपैयाँ देखि पाँच सयसम्म र सिसाको बोतलप्रति ओटा डेढदेखि दुई रुपैयाँसम्ममा खरिद बिक्री गर्छन् ।

यस्ता सामग्री उद्योगमा पुर्‍याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ । गाउँगाउँमा गएर पुराना सामान संकलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको जैसवाल बताए । राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन । भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा दुई हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुन्छ । यही पेसाले आफ्नो परिवार चलेको जैसवाल बताए । -रासस

प्रतिक्रिया