एक्यानको दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

नेपालखोज २०७९ असोज २९ गते ७:५७

काठमाडौं । एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।

शुक्रबार एक्यानले आफ्नो वार्षिकोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यतामा दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको हो । सम्मेलनमा छुटछुटै विषय र बहसमा मुलुकमा दिगो आर्थिक विकासका विषयमा छलफल समेत गरेको छ ।

एक्यानका अध्यक्ष दिपक पाण्डेले चार्टर्ड एकाउण्टेण्टहरुले नै दिगो विकास गर्ने किन भूमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहेकाले नीतिगत जटिलता समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताए ।

उनले नेपालको बजेट खर्च गर्ने प्रवृति समेत कमजोर गरेको भन्दै यसलाई परिर्वतन गर्ने विषयमा दिगो आर्थिक विकास सम्मेलनले एउटा डिपाचर ल्याउन सक्ने बताए । अध्यक्ष पाण्डेले दिगो आर्थिक विकासको राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासका लागि नयाँ कार्यदिशा दिने बताए ।

उनले एक्यान तीनै तहका सरकारसँग दिगो विकासको लक्ष्य पुरा गर्न हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले भने, ‘बजेट खर्च गर्ने प्रवृति कमजोर छ । दिगो विकास सम्मेलनले डिपाचर गर्ने छ । नयाँ दिशा बनाउने कोशिस गर्ने छ । चार्टर्ड एकाउण्टेन्टसहरुले नै दिगो विकास गर्ने किन भुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहान्छौं।’

त्यस्तै, कार्यक्रमका प्रमुख अथिति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताए । उनले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताइ । डा. भट्टराईले नेपाली काँग्रेस अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नभएको प्रति असन्तुष्टि जनाएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । उनले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताए ।

यता,नेपाल नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले नेपालमा दिगो आर्थिक विकासको बहस हुन जरुरी रहेको भन्दै एक्यानले दिगो विकास आयोजना गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

उनले दिगो आर्थिक विकासले विश्वमा शान्ति, मानव अधिकार,जनताको हित , आर्थिक समृद्धि,पृथ्वीको रक्षा ,लैगिंक समानता र भोकमरी तथा गरिबीको अन्त्यलाई समेट्ने बताए । उनले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटेन्स बढेपनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिए ।

पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फीतिमा दबाब कामय रहेको उनको भनाई छ । उनले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै, कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डरभ्याल्यु भएको बताए । उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको जिकिर गरे । दंगालले जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनि विभिन्न कारणले ठोसरुपमा जिडिपी नआएको बताए ।

प्रतिक्रिया