सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गरेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा कार्तिक २ गते आयोजित दिक्षान्त समारोहमा उक्त कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ र रिसर्चतर्फ प्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बहादुर सिंहलाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरे । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो अवसरमा उक्त कोर्ष सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरुलाई हार्दिक बधाई दिंदैं सांगठानिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिए ।
उनले दिक्षित अधिकृतहरुले यस कोर्षबाट प्राप्त गरेका ज्ञान, सिप, कला र कौशललाई सदुयोग गर्दै सांगठानिक बिकासमा ईमान्दार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशिल रहनुपर्ने बताए ।
उनले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलतापूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार समेत प्रकट गरे ।

प्रतिक्रिया