परिवर्तन विरोधीलाई निर्वाचनबाटै पराजित गर्नुपर्छ : मन्त्री भुसाल

नेपालखोज २०७९ कार्तिक ७ गते २१:१४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजानुपर्ने बताएकी छन् । मगर समाज सेवा केन्द्र ललितपुरले आज आयोजना गरेको ‘देउसी भैलो’ कार्यक्रममा उनले संविधानको रक्षा गर्दै यसको पूर्ण कार्यान्वयनमा जानुपर्ने बताएकी हुन् ।

‘संविधानले उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई अधिकार दिएको छ । संविधानको रक्षा गर्दै आर्थिक सामाजिक विकासमा लाग्नुपर्छ’, प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले भनिन् ।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनमा विजयी गराएर परिवर्तनलाई संस्थागत गराउनुपर्ने उनको भनाइ थियो । ‘संविधान, गणतन्त्र, समानुपातिक समावेशीताको विरोध गर्ने तथा राजतन्त्रको पक्षधर अहिले एक ठाउँमा छन्, उनीहरुबाट जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि खतरामा छ’, उनले भनिन्, ‘परिवर्तन विरोधीलाई निर्वाचनको मोर्चाबाटै पराजित गर्न अग्रगामी पक्षधरको गठबन्धन बनेको हो ।’

मन्त्री भुसालले मुलुकमा दिगो शान्ति, परिवर्तनलाई संस्थागत र आर्थिक सामाजिक विकास गर्न तथा सुदृढ राजनीतिक स्थिरताका लागि आसन्न निर्वाचनमा विवेक प्रयोग गर्न आममतदातामा आग्रह गरिन् ।

प्रतिक्रिया