शनिबार, जेठ ५, २०८१

बालविकासमा बालकथाको भूमिका

उमा घिमिरे र डा. दिपु शाक्य २०८० भदौ ९ गते ७:५०

बालबालिकालाई अत्यन्त मनपर्ने क्रियाकलापहरू मध्ये बालकथा पनि एक हो । बालबालिका विशेषतः २ वर्ष देखि ७-८ वर्षसम्म कथा सुनेर र भनेर कहिल्यै थाक्दैनन् । बालबालिकालाई कथा भन्ने प्रचलन  समाजको विकास क्रमसंगै चलिआएको हो । इ

तिहासका योद्धाहरूका बहादुरीका कथा देखि धार्मिक नैतिक घटनाहरू साथसाथै आफ्ना पुस्ताको घटनाहरूको बयान पनि कथा हो भने बालबालिकाको आवश्यक्ता बुझेर सो अनुसारको कथा रचना गरेर वा काल्पनिक घटनाहरू जोडेर पनि कथा तयार गर्न र प्रस्तुत गर्न सकिन्छ ।

बालबालिकाले कथामा भएका असल पात्रलाई आफू नै हो भन्ने कल्पना गर्दै, समस्या समाधानका सिप र नैतिक सिपद्वारा आफ्नो दृढ आत्मविश्वास तयार गर्दछन् । विशेषगरी सुत्नु अगाडि बालबालिकालाई कथा सुनाउने दैनिकी निर्माण गर्नाले, बालबालिकाको तनाव तथा चिन्ता कम हुने, राम्रो निद्रा लाग्ने जस्ता विभिन्न फाईदाहरू छन् ।

विभिन्न अनुसन्धानहरूले बालकथाले बालबालिकाको सर्वाङ्गीण विकास, विशेषतः बौद्धिक क्षमताहरू, परिकल्पना, संवेगहरूको प्रष्फुटन, नियन्त्रण र संन्तुलन गर्दछ भन्ने प्रमाणित गरे अनुसार बालकथाको महत्व दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

बाल कथा अभिभावक तथा स्याहारकर्ताले विभिन्न तरिकाले बालबालिकालाई पढेर सुनाउन सकिन्छ । केही विधिहरू यहाँ प्रस्तुत गरिएका छन्:

भाषा विकासमा कथाः बालबालिकाले कथाबाट प्रशस्त भाषा विकास गर्ने अवसर पाउँछन् जस्तैः ध्यान दिएर सुन्ने, नयाँ शब्द सिक्ने, प्रश्न गर्ने, छलफल गर्ने र आफ्नो विचार राख्ने बानीको विकास हुन्छ । बालबालिकाले कथा सुनेर फेरी यसमा थप गरी अरुलाई भन्न पनि सक्षम हुन्छन् जसले उनीहरूमा पनि वाक्यहरू छनौट गर्ने, पुरा गर्ने, जस्ता गहन भाषा विकासको  क्षमता विकास हुन्छ ।

बौद्धिक विकासमा कथाः कथा सुन्दा बालबालिका लामो समयसम्म ध्यान दिएर सुन्न सक्छन् । यसले एकाग्रता बढ्ने र कथामा भएका घटना दूर्घटनामा आफू समावेश भएको कल्पना गरी समाधानको रणनीति तयार गर्छन् । एउटा घटना पछि के होला ? भन्ने कौतुहलता जगाँउछ ।

कथामा भएका परिवेशहरू कल्पना गर्ने कथाका घटनाहरू आफैंलाई परेको जस्तो कल्पना गर्दै समाधानका उपायहरू खोजी गर्ने क्षमता अभिवृद्धि गर्दछन्, र यस्ता कल्पनाले  भविश्यमा आईपर्ने समस्याको अन्दाज गर्ने र सजिलै समाधान गर्ने सिप विकास हुन्छ ।

संवेगात्मक विकासमा कथाः बालबालिका कथा सुनेर रमाईलो मान्ने, कथामा भएका दुःखद तथा सुखद घटनाहरू अनुरुप संवेगको प्रदर्शन गर्ने र भविष्यमा यस्ता घटनाहरू आफूलाई परेमा सहन गर्ने क्षमता अभिवृद्धि गर्दछन् । जस्तैः बालबालिकालाई मृत्युको तथ्य कथाले नै सिकाउंछ । कथाले दबिएर रहेको डर हट्ने तथा अन्तरनिहित शक्ति अभिबृद्धि हुन्छ यसैगरी घटनाहरूबाट स्व–पहिचान र आत्मविश्वास पनि बृद्धि हुन्छ ।

सामाजिक सिप विकासमा कथाः कथामा भएका घटनाहरूबाट बालबालिकाले असल र खराब छुट्याउन सिक्दछन् । सामाजिक मूल्यमान्यता आदर सत्कार धर्म संस्कृति सिक्दछन् । विगतका सामाजिक परिवेश, भेदभाव जस्ता सामाजिक कुरितिलाई बुझेर हालको परिवेशमा सामान्यीकरण गर्ने मूल्याकंन गर्ने, सुधारकालागि विचार राख्ने, पहल गर्ने जस्ता सामाजिक परिवर्तनकालागि पहल पनि गर्छन् ।

विषयगत सिकाइमा कथाः कथामा भएका जोडघटाउ, गणितिय समस्याहरूबाट, मौखिक  कथाहरू भित्रका शब्दहरू खोज गर्ने, कथाका घतलाग्दा वाक्यहरू लेखेर पढ्ने र उमेर अनुसार सुनेको कथालाई पुनःलेखन गरेर, पढेर तथा चित्रकथाको अध्ययनले बालबालिकाले सजिलै विद्यालय सिकाइका आधारहरू बनाउँछन् । यसरी कथाबाट बालबालिकाले विषयगत सिकाइ, गणितीय सिप, पूर्व पढाई, पूर्व लेखाई तथा वैज्ञानिक खोज अनुसन्धान गर्न सक्छन् ।

व्यवहार विकासमा कथाः बालकथामा भएका पात्रले गरेको सकारात्मक व्यवहारले पाएका सकारात्मक उपलब्धी तथा नकारात्मक ब्यवहारबाट पाएका नराम्रा परिणामहरूलाई मूल्याकंन गरी बालबालिकाले आफ्ना व्यवहारलाई सकारात्मक तथा परिवारको अपेक्षा अनुरुप बनाउँछन् । बालकथाको सिकाइ बालबालिकाको चेतन, अवचेतन, अचेतन  मनसम्म पुग्नेहुनाले व्यवहार परिवर्तन वा व्यवहार परिमार्जनमा बालकथाको महत्वपूर्ण भूमिका हुन्छ । मनपर्ने कथामा भएका नैतिक सन्देशहरू बालबालिकाले आफ्नो जीवनभरी अनुकरण गर्छन् ।

उपचारात्मक पद्धतिमा कथाः बालबालिकाको अवस्था पहिचान गर्न बाल कथाको महत्व छ । यसबाट बालबालिका दूर्व्यवहारको शिकार भएको, दवाबमा परेको, धम्कीमा परेको, वा अन्य खतरामा परेको थाहा पाउन सकिन्छ । यसैगरी घरपरिवारबाट पाइरहेको वातावरण,परिवारिक सम्बन्ध, यसबाट बालबालिकामा परेका प्रभावहरू पत्तालगाई मनोवैज्ञानिक उपचारहरू गर्न सकिन्छ । रिस र डरहरूको व्यवस्थापन गर्न, कथाको माध्यमबाट अभिभावकको व्यवहार मूल्याकन गरी अभिभावक परामर्शहरू पनि गर्न सकिन्छ । 

पारिवारिक सम्बन्ध विकासः अभिभावक तथा स्याहारकर्तासँगै अध्ययन गर्ने, कथा सुन्ने सुनाउने अभ्यासले ठूलासँग सकारात्मक सम्बन्ध विकास, कुराकानी अन्तरक्रियाको अवसर साथै उनीहरूलाई संवेगात्मक सुरक्षा महसुस हुन्छ ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया