किजा पूजा अर्थात् भाइ टीका !

हुन त तिहार पाँच दिन मनाइन्छ । तर तिहारको मुख्य दिन नै किजा पूजा (भाइ टीका) नै हो । कतिपयका लागि तिहार भन्नु नै भाइ टीका हो । दिदी भाइहरूका लागी तिहारको महत्व भाइ टीकाको धेरै लाग्छ । दाजुभाइ नहुनेहरुले दिदीबहिनी बीच पनि टीका लगाएर रमाइलो गरेको पनि देख्न सकिन्छ ।
तिहार दिदीबहिनीलाई माइती पुग्ने एउटा अवसर त हो नै । तर दिदीबहिनीको दाजुभाइ प्रतिको स्नेह र माया यो दिनमा अझ बढी भेटिन्छ । भनिन्छ यमदुतले आफ्नो भाइलाई लिन आउँदा पनि दिदीले यमदुतलाई बाचा गराएर फिर्ता पठाएकी थिइन् । मखमली फूलको माला नओइलाएसम्मको लागी पर्खन लगाएका थिइन् । यसैगरी सूर्यको पत्नी छाँयाबाट जन्म भएका दुई दाजुबहिनी यम र यमुना थिए । बारम्बार घरमा बोलाउँदा पनि नआएका यमराज यसै दिन आइपुग्दा यमुनाले निकै मायाले टीका लगाइ दिएकी थिइन् । यमराजले खुशी भइ बर माग्न अनुरोध गर्दा सधैँ यही दिन टीका लगाउन आउने बाचा गराएपछि यस दिनबाट यस पर्वलाई यमपञ्चकको रूपमा मनाउने गरिएको मान्यता छ ।
भाइटीका मनाउने आ-आफ्नो शैली होलान् तर संस्कार र आस्था सबैको एउटै हुन्छ । पारिवारीक स्नेह नै भाइटीकाको प्रमुख उद्देश्य हो । नेवा:हरुको भाइटीका (किजापूजा) मनाउने छुट्टै परम्परा रहे पनि समुच्च नेपालीहरु यस दिन भाइटीका मनाउने गर्दछन् । भाइटीका मनाउने चलन भिन्न होला तर दिदी बहिनी तथा दाजुभाइ बिचको स्नेह र सद्भाव भने भिन्न हुँदैन । एक अर्का प्रतिको प्रेमभाव अमुल्य हुने गर्दछ ।
नेवा:हरूको किजापूजामा पनि म्हपूजामा झै मण्डः बनाइन्छ । चामलको पिठोमा बेसार मिसाएर बनाइएको रेखीले मण्डप बनाइन्छ । शुद्धिकरण तथा नकारात्मक शक्ति रोक्न बेसारको प्रयोग गरिन्छ, तर अचेल बेसारको ठाउँमा केशरी प्रयोग गर्ने गरिन्छ । मण्डः ब्रम्हाण्डको प्रतिक हो । मण्डः बनाउँदा सबैभन्दा माथी इष्ट देवताको प्रतिकमा एउटा र अन्तमा यमदुत र शिवदुतलाई साक्षी राखेर पूजा गर्नको लागि दुईवटा मण्डः बनाइन्छ । लः मण्डः भनेर पानीको प्रयोगबाट शुद्ध गरिन्छ । चिकं मण्डः भनेर तेलको प्रयोग गरिन्छ। तेल चाँडै नसुक्ने हुदा दिर्घकालिन अस्तित्वको प्रतिकको रूपमा प्रयोग गर्छौ । मण्डः तयार भएपछि सजिवताको लागि अबिर छर्ने र लावा छर्ने तथा आँखे राख्ने गरिन्छ । पूजा आरम्भ गर्दा अष्टमंगल विधिबाट गरिन्छ ।
१) मण्डः पूजाः सम्पूर्ण ब्रम्हाण्ड तथा सृष्टीको पूजाका रुपमा मण्डपलाई पूजा गरिन्छ ।
२) खेलु इता पूजाः आत्म ज्योतीको पूजाका रुपमा खेलु इता पूजा गरेर बालिन्छ ।
३. म्ह पूजाः मानविय मूल्य, मान्यता र सम्मानको रुपमा शरीरको पूजा गरिन्छ ।
४. धौ स्वगः जीवन प्रकाशमय होस् भनेर टीका दहीमा मुछेर दिने गरिन्छ ।
५. सी स्वगः फलफूल जस्तै उत्पादनशिल जीवन होस भनेर फुलफूल दिने गरिन्छ ।
६. वसः स्वगः आधारभूत आवश्यकताबाट कहिल्यै बञ्चित हनु नपरोस भनेर कपडा दिने गरिन्छ ।
७. मरि स्वगः मिठाइ जस्तै जिवन मिठासपूर्ण रहोस भनेर मिठाइ दिने गरिन्छ।
८. खेः स्वगः पञ्चतत्वको प्रतिकको रुपमा पाँच तत्वको प्रतिकका रुपमा पाँच खाद्य सामग्री राखेर अण्डा स्वगः दिने गरिन्छ। यसमा
क. न्याः – जल तत्वको प्रतिकका रुपमा जलचर माछा
ख. लाः – स्थल तत्वको प्रतिकका रुपमा स्थल जीवको मासु
ग. खेँ – आकाश तत्वको प्रतिकका रुपमा पंछी अर्थात कुखुराको अण्डा
घ. वः – वायु तत्वको प्रतिकका रुपमा मास वा मुंगको वारा
ङ. अयलाः – अग्नी तत्वको प्रतिकका रुपमा रक्सी
यसरी खेँ स्वगः दिए पछि दिदीबहिनीलाई दाजुभाइले खेँ स्वगःको केही भाग खाएर दिदीबहिनीलाई दिने गरिन्छ । यसको साथै दाजुभाइले दिदीबहिनीलाई उपहार पनि दिने गरिन्छ । यसरी अष्टमंगल विधिबाट किजा पूजा सम्पन्न भएपछि दिदीबहिनी दाजुभाइ सबैसंगै बसेर भोज खाने चलन रहेको छ ।
अन्य जातिले गरिने भाइ टीका
नेवाःहरुको किजा पूजा यसरी बिस्तृत रुपमा भए पनि अन्य जातिमा भने दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइ भाइटीका मनाउने गर्छन् । साथै दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरंगी टीका लगाइदिने गरिन्छ । सप्तरंगी सात ग्रहको प्रतिकका रुपमा लगाउने प्रचलन रहेको हो । नवग्रहमा राहु र केतु दुइ ग्रहले बिपरित फल दिने हुँदा अन्य सप्तग्रहको प्रतिकका रुपमा सप्तरंगी टीका लगाउने गरिएको हो । यसमा रहेको रातो रंगले सूर्य जस्तै जीवन तेजमय रहोस सुख प्राप्ति होस, सेतो रंगले चन्द्रमा जस्तै शान्त, कोमल र सहृदय, बैजनी रंगले मंगल जस्तै शूरवीर र स्वस्थ्य, हरियो रंगले बुध जस्तै सम्पन्न र दिर्घायु भएको रहोस, गुलाफी रंगले बृहस्पती जस्तै सबैको प्रिय रहोस, पहेँलो रंगले शुक्र जस्तै सुन्दर र उल्हासमय रहोस, निलो रंगले शनि जस्तै परिश्रमी शान्ति रहोस भनेर सात ग्रहको प्रतिकका रुपमा सात रंगको टीका लगाइ दिनेगरिन्छ । यस्तै अन्तमा लगाइ दिने राता अक्षतासहितको टीकाले उमंग ल्याउने विश्वास गरिन्छ । अहिले आएर केही ज्योतिषहरुले सात रंग होइन पाँच रंग हो भनेर पनि प्रचार गरेको पनि पाइन्छ ।
कतिपय जातीले भाइ टीकाको लागि दिदीबहिनीले दाजुभाइलाई अघिल्लो दिन वा केही दिन अगाडि निम्तो पठाउने गर्छन् । टीकाको दिन बिहानै नुहाइधुवाइ गरेर दिदीबहिनीले अष्टचिरञ्जीवीको पूजा गरेर तयार भएर बस्छन् । टीका लगाउँदा दाजुभाइलाई पूर्व फर्काएर राखी दिदीबहिनी पश्चिम फर्केर लगाइदिने गरिन्छ । सबैभन्दा पहिले कुमारको प्रतिक कलश तथा गणेशको प्रतिक दियो बालेर पूजा आरम्भ गरिन्छ । कुनै पनि मंगल कार्यमा गणेश र कुमारको आह्वान सबैभन्दा पहिले गर्नुपर्ने हाम्रो शास्त्रीय परम्परा रहेको छ । भाइ टीका नसकुञ्जेल भाइलाई कालले केही गर्न नसकोस भनेर कालको बाटो छेक्नको लागि यमराजको प्रतिक स्वरुप बिमिरो र ओखरलाई ढोकामा पूजा गरिन्छ । ढोकामा नै ओखर फोडेर कडा बोक्रा बाहिर फाल्ने र नरम खानेकुरा भित्र राख्ने गरिन्छ । यसले नराम्रो बिकारहरु बाहिर जाओस तथा राम्रा कुराहरु मात्र रहोस भनेर ओखर फोड्ने गरिन्छ ।
प्रतिक्रिया