आइतबार, जेठ ६, २०८१

डेंगीका बिरामीले के खाने के नखाने ? के गर्ने के नगर्ने ?

डा. रबिन्द्र पाण्डे २०७९ कार्तिक १० गते १५:२५

डेंगीका बिरामीले गर्नु हुने/ नहुने र खानु हुने/ नहुने कुराहरू

  • ज्वरो, टाउको दुख्ने, शरीर दुख्नेको लागि पारासिटामोल मात्र सेवन गर्ने । ब्रुसेट, फ्लेक्सन, निम्स आदि पेन किलर नखाने ।
  • खाना रुचेन भने एपेटाइजर खान सकिन्छ ।
  • वान्ता भएमा वा वाकवाकी लागेमा वान्ता रोक्ने औषधी खाने ।
  • उच्च रक्तचाप तथा मधुमेह नभएका व्यक्तिले जीवनजल प्रशस्त खाने ।
  • मेवा, किबी, अनार, जुनार, स्याउ, काँक्रो, खर्बुजा, एभोकाडो, अम्बालगायत फलफूल प्रशस्त खाने ।
  • दाल, गेडागुडीको रस, मसरुम सुप, भेजिटेबल सुप, दुध, दही, नर्मल खाना पर्याप्त खाने ।
  • ज्वरो आउन्जेल मासु नखाने । उमालेका अण्डा दिनमा २ वटासम्म खान सकिन्छ ।
  • रक्सी एकथोपा पनि नखाने । कोल्ड ड्रिंक्स, जंक फुड, रेस्टुरेन्ट फुड, तारेको, धेरै चिल्लो, धेरै मसला, पचाउन गाह्रो गरिष्ठ भोजन सेवन नगर्ने ।
  • ठूलो ज्वरो आएको बेला ननुहाउने । एक्कासी चिसो पानीले नुहाउँदा शरीरको तापक्रम अचानक घटेर समस्या हुनसक्छ । ज्वरो बसेपछि मनतातो पानीले दिउँसो नुहाएर घाममा बस्ने ।
  • एक-दुई दिन बिराएर प्लेट्लेट्स टेस्ट गर्ने । यदि प्लेट्लेट्स १ लाखबाट घट्दै गएमा र नाक, मुख, गिंजा, मलद्वार, मुत्रद्वार, योनी आदिबाट रगत बग्यो भने तुरुन्तै अस्पताल जाने ।
  • चिकित्सकको निगरानीमा फल्ने मेवाको कलिलो पात सफा गरेर त्यसको जुस बनाएर दिनको ३० मिलि नियमित सेवन गर्दा प्लेट्लेट्स बढ्छ । (अमेरिका, युरोप, एसियाका बिकसित देश लगायत सबै ठाउँमा मेवाको पातको सत्वको क्याप्सुल, ट्याब्लेट तथा सिरप बनाएका छन् । ती देशका नियामक निकायले प्लेट्लेट्स बढाउनको लागि सप्लिमेन्टको रुपमा प्रयोग गर्ने अनुमति दिएका छन् । हाम्रो देशमा आफुले नजानेको विषयमा सोधखोज गर्ने, रिसर्च पेपर पढेर जनतालाई सस्तो र सर्बसुलभ उपाय बताउनुको साटो निषेध गर्ने परम्परा छ । त्यस्तै हामीले पनि चिकित्सकको सल्लाहबिना जथाभावी सेवन गर्नु हुँदैन । यसको अरु साइड इफेक्ट नभएपनि वाकवाकी लाग्ने, पेटमा असहज हुने लगायत सामान्य लक्षण देखिन सक्छन् ।)
  • द्वितीय संक्रमण नभएसम्म र चिकित्सकले सिफारिस नगरेसम्म एन्टिबायोटिक नखाने ।
  • ज्वरो आउँदा चिसो पानीको पट्टी नलगाउने । मनतातो पानीपट्टी लगाउने ।
  • डेंगी हुँदा र कमजोरी रहेसम्म हल्का मात्र व्यायाम गर्ने । हेभी ब्यायाम नगर्ने ।
  • डेंगीले कलेजोमा असर गर्ने भएकोले लिभर फंक्सन टेस्ट गर्ने र SGOT, SGPT धेरै बढेमा चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने ।
  • कतिपय संक्रमितलाई रगतमा चिनीको मात्रा निकै बढेको हुन्छ । डेंगी निको भएपछि बिस्तारै नर्मल हुनसक्छ । नभएमा उपचार गर्नुपर्ने हुन्छ ।
  • औषधि पसलमा पाइने महंगा फुड सप्लिमेन्ट नखाने । औषधि विभागमा दर्ता भएका एन्टिअक्सिडेन्ट भिटामिन क्याप्सुल खान सकिन्छ ।
  • झोलिलो / पोषिलो खाना राम्रोसँग खाने र आत्मबल खस्किन नदिने हो भने डेंगीले गाह्रो गर्दैन ।
  • एकपटक डेंगी निको भएपछि त्यहि प्रजातिको लामखुट्टेले टोकेमा डेंगी लाग्दैन / लागेपनि सामान्य हुन्छ । तर हामीकहाँ ३ वटा प्रजाति देखिएका छन् । लामखुट्टेसंग नबच्ने हो भने हामी फेरी संक्रमित हुनसक्छौं । अर्कोपटक संक्रमित भएमा झन कठिन हुनसक्छ । रक्तश्राब र पानीको कमीको कारण बेहोश हुने सम्भावना हुन्छ । तसर्थ बचावटका उपाय यो कार्तिकभर गर्नु जरुरी छ ।

प्रतिक्रिया