मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

रेसुंगा । गुल्मीको मालिका गाउँपालिका १ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै गर्नेछन् । उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिए । मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको धोको भने कहिल्यै पूरा हुन सकेन ।
जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको लिलिङका घर्तीमगरले गुनासो गरे । ‘जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ’, उनले भने, ‘पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ ।’ वडादेखि केन्द्र तहका नेताले पटकपटक सडक निर्माण गर्ने आश्वासन दिए पनि कहिल्यै पूरा नभएको घर्तीमगरले बताउनुभयो ।
लिलिङका अर्का स्थानीय ३७ वर्षीय यमबहादुर बलामी पनि गाउँमा सडक नहुँदा नेताहरूप्रतिको विश्वास घट्दै गएको बताउछन् । उनले पनि २०५६ देखि गत निर्वाचनसम्म चार पटक सांसद चुने । मङ्सिर ४ मा उहाँले पाँचौँपटक सांसद चुन्दै छन् । उनले आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताहरूले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो गरे ।
गाउँमा लामो समयदेखि नेताहरूले पटकपटक दिएको आश्वासनले दिक्क लागेको लिलिङका यमबहादुरले गुनासो गरे । ‘सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा धेरै सांसद बनेका छन्,’ उनले भने, ‘लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्र्याक खुले पनि एकझर पानी परेपछि सडक अस्तव्यस्त हुन्छ ।’
लिलिङमा ४५ घरपरिवारमा तीन सय सदस्य छन् । उनीहरू यो समस्याबाट सधै ग्रसित बनिरहेका छन् । गत वर्ष सडकको ट्र्याक खुले पनि अहिलेको वर्षायामले सडक अस्तव्यस्त बनाएको छ । बागलुङको भीमगिठेमा मध्यपहाडी राजमार्ग भए पनि यस क्षेत्रमा भने सडकको अवस्था बिजोग रहेको लिलिङका स्थानीयवासीले गुनासो छ । यो मात्र होइन यस क्षेत्रमा विद्यालय पनि छैन । मनकामना प्राथमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन तथा अध्यापन भए पनि त्यसबाहेकको माथिल्लो तहमा २० जना विद्यार्थी बागलुङमा जाने गर्दछन् । यस क्षेत्रमा अहिलेसम्म केन्द्रीय विद्युत् पुगेको छैन । त्यहाँका स्थानीवासीले प्रतिघर सात हजार नगद र एक सय १० दिन श्रमदान गरेर घरघरमा बिजुली बाले पनि समस्या आइरहन्छ ।
त्यस्तै सोही वडाको देउरालीका स्थानीय ६१ वर्षीय भीमबहादुर विकको २०७३ मा सडकको ट्र्याक खोल्दा घर जोखिममा परेको थियो । उनको समस्या अहिले पनि उस्तै रहेको छ । उनको घर जोखिममा परेपछि चुनावी कार्यक्रममा सधैँ गुनासो राख्नुभयो तर चुनावको समयमा आश्वासन धेरै आए पनि चुनावपछि कहिल्यै समस्या समाधान हुन नसकेको उनले गुनासो गरे । आफूले अहिले सांसदका लागि छैटौँ पटक मतदान गर्न लागेको भीमबहादुरले बताए । “मैले विभिन्न आश्वासनका कारण पटकपटक मतदान गरेको थिएँ,’ उनले भने, ‘आश्वासन कहिल्यै पूरा नभएकाले यसपटक भने मतदान गर्न उत्साह नै छैन ।’

प्रतिक्रिया