आहाराको अभावमा मरे चौँरी र नाउर

नेपालखोज २०७९ कार्तिक १४ गते १३:२०

डोल्पा । उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । सेतक चिनी संकलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका ८ का पेम्बा गुरुङले जानकारी दिए ।

चरिचरणका लागि जंगलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उनको भनाइ छ । आफ्नो मात्र सात वटा चौँरी मरेको उनले बताए । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उनले जानकारी दिए ।

चौँरी खोज्दै जाँदा शे फोक्सुण्डो गाउँपालिका ८ सागबारी (मान्नागखिया)मा चौँरी मरेको फेला परेको पीडित किसानले बताएका छन् । घाँस पाइने ठाउँमा चरिचरण गर्न नदिने र हिमालमा हिउँका कारण घाँस नपाउने भएपछि चौपाया मरेको स्थानीयवासीले बताए । केहीले सेतक चिनी खाएर पनि मरेको बताएका छन् । जथाभावी सेतक चिनी संकलन गरेर जनावरलाई चरिचरण क्षेत्र नै सखाप पार्ने अवस्था अन्त्य गर्नुपर्ने स्थानीय अनुगबहादुर लामाले बताए ।

चरिचरण क्षेत्र मास्दै जाने हो भने चौपायपालनमै समस्य हुने उनको भनाइ छ । उपल्लो डोल्पामा ढुवानी र दूधका लागि चौँरीपालन गरिन्छ । मासु र कपडा निर्माणका लागि भेडाच्याङग्रापालन हुँदै आएको छ । नाउर हिउँ चितुवाको मुख्य आहारा हो । -रासस

प्रतिक्रिया