अरब लिगको सम्मेलन अल्जेरियामा सुरु

नेपालखोज २०७९ कार्तिक १६ गते १२:४१

काठमाडौं । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१ औँ शिखर सम्मेलन भएको बताइएको छ ।

यस सम्मेलनका मुख्य एजेण्डामा खाद्य सुरक्षा र इजरायल प्यालेस्टाइन रहेका बताइएको छ । यसअघि लिगको ३० औँ सम्मेलनको आयोजक राष्ट्र ट्युनिसिया रहेको थियो । ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए । मङ्गलबार साँझ अल्जियर्स्मा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका थिए ।

मङ्गलबार साँझको सो उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिएका थिए । उनले यस ३१ औँ सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरुका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताए ।

सो सत्रमा अल्जेरियाका राष्ट्रपति तोबेनोले अरब विश्व र समग्र विश्व नै अहिले विभिन्न जटिलताका साथ गुज्रिरहेका बेला अरब लिगको सम्मेलन सुरु भएको भन्दै यस सम्मेलनले अरबका समस्याहरुको समाधानका लागि विकल्प दिन सक्नुपर्ने बताए ।

उनले हाल विश्वमा कोरोना भाइरसको समस्यापछि सुरु भएको आर्थिक मन्दीका साथै खाद्यान्न सङ्कटजस्ता विषयमा अरब विश्वले पनि सोच्नुपर्ने धारणा राखेका थिए ।

उनले हाल विश्वमै बढ्दो रुपमा रहेको खाद्यान्न सङ्कटको समाधानका लागि अरब विश्वले पनि आफ्नो अर्थतन्त्रमा गति दिँदै आपसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ ।
सो सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुनुहुने बताइएको छ । साथै अन्य अरब देशका नेताहरुले सो सम्मेलनमा सहभागिता जनाउने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया