मेलापातमा भोट माग्दै उम्मेदवार

नेपालखोज २०७९ कार्तिक २० गते ९:००

कालीकोट । कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो ।

धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा रमाउने गरेका छन् ।

कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका भीमबहादुर रावलले गहुँबाली लगाउन र धानबाली भित्र्याउन व्यस्त रहेको बताए । ‘अहिले हामी बाली लगाउने र भित्र्याउने काममा व्यस्त छौँ ।’, उनले भने, ‘दुई महिना त बाली लगाउने महिना हो । त्यसैले गाउँका प्रायः सबै खेतबारीमा रहने गरेका छन् ।’

गाउँमा चुनाव प्रसार–प्रचारका लागि नेता तथा कार्यकर्ता पुग्ने गरेका छन् । रास्कोट नगरपालिका–५ का नयाँरुप फडेराले भने, ‘गाउँमा माइकिङ गरेर भोट मागेको त सुन्छौँ, तर दलहरूका चुनावीसभामा जान पाएका छैनौँ’, उनले भने ‘दलहरूका एजेण्डाका विषयमा जानकारी कम छ, त्यसैले कसलाई मत दिने हो अन्योलता कायमै छ ।’

रासस

प्रतिक्रिया