काठमाडौं–५ : पाका र युवाको भिडन्त

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उमेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेसँगै काठमाडौं क्षेत्र नम्बर – ५ मा पनि उमेदवार मतदाताकाका घरदैलोमा आआफ्ना चुनावी प्रतिवद्धता सहित पुगेका छन् । निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको छ ।
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं – ५ मा नेकपा (एमालेका)तर्फ बाट उमेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उमेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छन् । पौडेललाई गठबन्धनको समर्थन छ । सो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका चार, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन् ।
यो क्षेत्रभित्र काठमाडौं महानगरका २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ वडा छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् ।
स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कुल १७ हजार ९५२, कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीले एक हजार ८३९ र माओवादी केन्द्रले ७२० मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले तीन हजार ३८८ मतान्तरले अगाडि देखिन्छ ।२०७४ निर्वाचनमा एमालेका उमेदवार ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए ।
सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकोले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन् । प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्रबाट कुल ७० हजार ९१९ मतदाता रहेका छन् । जसमध्ये महिला ३७ हजार एक सय २५ र पुरुष ३३ हजार ७९१ मतदाता छन् । रासस

प्रतिक्रिया