शनिबार, जेठ ५, २०८१

पाकिस्तानका हिन्दू आफ्नो अस्तित्व जोगाउन संघर्षरत

नेपालखोज २०७९ कार्तिक २३ गते १२:३३

दर्जनौं हिन्दूहरू पाकिस्तानको शिखदेखि नखसम्म बग्ने सिन्धु नदीको बलौटे किनारमा रंगीन डुङ्गाको प्रतीक्षामा हुन्छन् । यो डुङ्गाले उनीहरुलाई नदीको बीचमा अवस्थीत एउटा टापुमा पुर्याउँछ । उक्त टापुमा करिब २०० वर्ष पुरानो पुरानो साधुबेला मन्दिर छ । डुङ्गा टापुको किनारमा पुग्दा ठूलो नारा सुनिन्छ । संगमरमर र चन्दन काठबाट बनेको साधुबेला मन्दिर पाकिस्तानी हिन्दूहरूमाझ निकै सम्मानित छ । यो टापु दुई शताब्दीअघि सिन्ध प्रान्तका मुस्लिम जमिन्दारहरुले हिन्दू समुदायलाई उपहार दिएका थिए, जुन आजको पाकिस्तानमा कल्पना गर्न गाह्रो मानिन्छ । यद्यपि आजको पाकिस्तानमा, हिन्दू जस्ता अल्पसंख्यक समुदायहरू आफ्नो संस्कृति जोगाउन संघर्ष गरिरहेका छन् ।

पाकिस्तानमा करिब ४० लाख हिन्दू बस्छन् अर्थात् जनसंख्याको १ दशमलव ९ प्रतिशत । तीमध्ये १४ लाख त सिन्ध प्रान्तमा छन् । पाकिस्तानमा हिन्दु पूजाआजामा कुनै प्रतिबन्ध छैन, तर हिन्दूहरू अहिले खुला पूजा जस्ता धार्मिक कार्यक्रमबाट टाढै छन् । हिन्दू बहुल भारत र इस्लामिक राष्ट्र पाकिस्तानबीच दशकौंदेखि चलिरहेको द्वन्द्वको ठूलो मूल्य यो हिन्दू समुदायले चुकाउनुपरेको छ । जसरी भारत अल्पसंख्यक मुस्लिमहरूका लागि सामाजिक-आर्थिक कठिनाइहरूले भरिएको छ, त्यस्तै अवस्था पाकिस्तानमा हिन्दूहरुको छ।

यो तनावपूर्ण वातावरण बीच पनि सिन्धको अवस्था अलि फरक छ। त्यहाँ मन्दिरहरू छन्, जसमध्ये अधिकांश अहिले भग्नावशेषमा परिणत भएका छन्। यहाँ हिन्दूहरुले स्थापना गरेका उद्योग, शैक्षिक संस्था, अस्पताल तथा धर्मशालाहरू छन् जुन सन् १९४७ को विभाजनअघि निर्माण भएका थिए । पाकिस्तानमा हिन्दू धर्मालम्बिहरु अस्तित्वको संघर्षमा भए पनि यी हिन्दू प्रतीकहरू पाकिस्तानका पहिचान हुन् ।

त्यसमध्ये साधुबेला मन्दिर एउटा प्रमुख मन्दिर हो । पाकिस्तान हिन्दू मन्दिर व्यवस्थापन समितिका महासचिव तथा स्थानीय राजनीतिज्ञ दिवान चन्द चावला यो मन्दिरको इतिहास निकै गर्वका साथ बताउँछन्। सन् २०२३ मा यो मन्दिर स्थापनाको २०० वर्ष पूरा हुँदैछ। चावला भन्छन्- यो मन्दिर जोधपुरका कारीगरहरुले बनाएका थिए र यसको निर्माणले ताजमहलको झझल्को दिन्छ।

स्थानीय मुस्लिम समुदायसँग सुमधुर सम्बन्धमा जोड दिँदै चावला भन्छन्, पाकिस्तान बनेपछि ठूलो संख्यामा हिन्दूहरु भारत बसाइँ सरेका थिए। यद्यपि यहाँ पाकिस्तानमा बस्नेहरू सुखी र सम्पन्न छन्। म पाकिस्तानको मुस्लिम समुदायप्रति आभारी छु। जो हरेक अवसरमा हामीलाई पूर्ण साथ दिन्छन् । हामी कानूनको पालना गर्छौं र सरकारले पनि हाम्रो ख्याल राख्छ । यता चावलाको यो भनाइ प्रति धेरैले असहमति जनाएका छन् ।

मानवअधिकार संगठनहरुको आरोप छ – हिन्दुहरुको धार्मिक स्वतन्त्रताको रक्षाका लागि सरकारले उचित काम गरेको छैन । उनीहरुले मन्दिर भत्काउने, पसल र घरमा आक्रमण गर्ने, अपहरण गर्ने, जबरजस्ती धर्म परिवर्तन गराउने तथा हिन्दू युबतिहरुको मुस्लिम युबक सँग जबरजस्ती विवाह गराईदिने घटनाहरुको उदाहरण दिएका छन्।

पाकिस्तानका हिन्दु राजनीतिज्ञहरू भने अर्कै भाषा बोल्छन् । चावला जस्ता अरु पनि राजनीतिज्ञ छन् जसले हिन्दू-मुस्लिम सम्बन्ध राम्रो भएको दाबी गर्छन्। सिन्ध राज्यका मुख्यमन्त्रीका वरिष्ठ सल्लाहकार वकार महदी भन्छन्, पाकिस्तानी हिन्दू सिन्धमा धैर्य एवं शान्तिपूर्वक र कुनै डर वा खतरा बिना बसेका छन । प्रदेश सरकारले हिन्दु र इसाई धर्मावलम्बीको अधिकार संरक्षणलाई प्राथमिकतामा राखेको महदी बताउँछन् ।

सिन्ध युनिभर्सिटीमा सामाजिक विज्ञान पढाउने जाहिदा रहमान जट बताउँछिन् ( देशमा कट्टरपन्थीहरुको उदयसँगै हिन्दुहरूको शोषण र पृथकीकरणका घटनामा तीव्र वृद्धि भएको छ। उनी भन्छिन् असहिष्णुताले पाकिस्तानको हिन्दू सम्पदालाई खतरामा पारेको छ । जट भन्छिन्, यो धेरै दुखको कुरा हो किनभने उनीहरूले (हिन्दू) पाकिस्तानमा धेरै ठूलो योगदान गरेका छन्। अधिकांश पाकिस्तानी लाई के थाहा छैन भने पाकिस्तानी समाजको सुधारमा हिन्दू तथा सिखहरूले कति ठूलो भूमिका खेलेका छन् ?

पाकिस्तान बनेपछि धेरै हिन्दू संस्थाको नाम परिवर्तन भएको जट बताउँछिन् । उनले हैदरावादको कुन्दनमल स्कूलको उदाहरण दिएकी छिन् । केटीहरुको यो विद्यालय सन् १९१४ मा सामाजिक कार्यकर्ता सेठ कुन्दनमलले निर्माण गराएका थिए । आज यो जामिया अरेबिया गर्ल्स स्कूलका नामले चिनिन्छ। जट भन्छिन्- यस्ता परिवर्तनक‍ो कारण पाकिस्तानीहरुलाई थाहा छैन ।

तैपनि अल्पसंख्यक हिन्दु समुदायको पाकिस्तानमा ठुलो योगदान छ । शिकारपुरमा हिन्दू समुदायले बनाएको एक कलेज र दुई अस्पताल छन् । दीपावलीको रात त्यहाँ दियो प्रज्वलन गरिन्छ तर त्यहाँ धेरै गतिविधि हुँदैन । ६७ वर्षीय दीवान नारायण दास शिकारपुरमा मिठाई पसल चलाउँछन्। दीपावली उनको सबैभन्दा ठूलो चाड हो । यद्यपि दास पुरानो चहलपहल सम्झनन्छन । उनको परिवारले १९ औं शताब्दीदेखि नै मिठाई पसल चलाउँदै आएको छ। विभाजन अघि यो सफ्ट ड्रिंक स्टोर थियो भने अहिले यो कुल्फी फलुदाका लागि प्रसिद्ध छ।

शिकारपुरमा दासलाई फेला पार्न सजिलो छ। फलुदा पसल वाले दीवान साहेबु कहाँ भेटिन्छन् भन्ने कुरा सबैलाई थाहा छ । दास भन्छन्, बुढापाकाहरू भन्छन् कि २० वर्षअघि हाम्रा मिठाइमा जुन स्वाद थियो त्यो आज पनि कायम छ । शिकारपुरमा पहिले हिन्दू समुदायको बाहुल्य रहेको दास बताउँछन् । धनीहरूले सिन्धु नदीको किनारमा मेलाहरू आयोजित गर्थे । तिनीहरू यहाँ बसे पनि उनीहरूको व्यवसाय सिंगापुर, हङकङ र मुम्बईसम्म फैलिएको थियो, उनी सम्झन्छन् ।

विभाजनपछि ठूलो संख्यामा हिन्दूहरू यहाँबाट पलायन भएका थिए । उनीहरुको सम्पत्ति सरकारले कब्जामा लिएको छ । जट भन्छिन् त्यो सम्पत्ति भारतबाट आएका आप्रवासी मुसलमानहरूलाई दिइएको थियो । ‘यी हिन्दू घरहरू ठूला छन् जबकि त्यहाँ बस्ने मानिसहरू धेरै गरिब छन् । उनीहरूले त्यो सम्पत्तिको हेरचाह गर्न सक्दैनन् ।’

जट भन्छिन्- विभाजन पछि, राजनीतिज्ञहरुले मुस्लिम दृष्टिकोणलाई बढावा दिए र अन्य समुदायको योगदानको अवमूल्यन गरे । उनी भन्छिन्, मलाई लाग्दैन कि हामीले हिन्दूहरूको यस्तो योगदान फेरि कहिल्यै देख्नेछौं । अवसरहरू घट्दै गएका छन् । व्यक्तिगत स्तरमा मानव सेवाका केही उदाहरण त छन्, तर यसको आकार घट्दै गएको छ । एपी


प्रतिक्रिया