कस्ता प्रश्न आउँछन् निर्वाचन आयोगको कल सेन्टरमा ?

नेपालखोज २०७९ कार्तिक २६ गते १०:१०

काठमाडाैं‌ । निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नम्बर ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्छन् ।

चाैबीस घण्टानै खुला रहने यो फोन नम्बर मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिन्छन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ जसको जवाफ पछि कर्मचारीहरूले दिन्छन् ।

हालसम्म कलसेन्टरमा आएका विभिन्न जिज्ञासा मध्ये सबैले बुझ्नुपर्ने केही महत्त्वपूर्ण प्रश्न तथा जवाफ यस्ता छन् :

गुल्मीमा एक शिक्षकले फेसबुकबाट सेध्छन् उम्मेद्वारको प्रचार प्रसार गरेको पाइयो यसको उजुरी कसरी कसलाई पठाउन सकिन्छ ?

callcenter@election.gov.np, jeoc@ecn.gov.np, media@ecn.gov.np मा कुनै पनि उम्मेद्वार वा दलले आचारसंहिता विपरीत गरेका कामहरूको प्रमाणका साथ इमेलमार्फत उजुरी गर्न सकिन्छ । साथै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत वा निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत पनि पठाउन सकिन्छ ।

उम्मेद्वारले मतदान केन्द्रभित्र प्रवेश गरेर मतदानको तथ्यांक लिने लगायतका कार्य गर्न पाइन्छ ?

सम्बन्धित मतदान अधिकृतको अनुमतिमा के कति मतदान भयो अद्यावधिक विवरण लिन सकिन्छ ।

म प्रहरी हुँ । उम्मेद्वारलाई वा निजको प्रतिनिधिलाई मतदान केन्द्रभित्र निर्वाध रूपले प्रवेश गर्न दिन पाइन्छ ?

उम्मेद्वार वा निजको प्रतिनिधिले परिचयपत्रसहित उपस्थित भएको खण्डमा सम्बन्धित मतदान अधिकृतले तोके बमोजिमको क्षेत्रसम्म अनुमति लिई प्रवेश दिन सकिन्छ । तर गोप्य स्थानमा जान दिन मिल्दैन ।

वडाध्यक्ष आफ्नो काम छाडेर उम्मेद्वारको प्रचार प्रसारमा हिँड्नुभएको छ । उजुरीको प्रक्रिया के होला ?

निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था अनुसार जनप्रतिनिधिहरूले आफू निर्वाचत भएको पालिकाभित्र कुनै पनि उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइन्न ।

त्यस्तो गरेको पाइएमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति वा निर्वाचन आयोगको विभिन्न सम्पर्क माध्यमबाट उजुरी गर्न सकिन्छ ।

नागरिकता लगायतका कुनै पनि प्रमाणले भोट हाल्न पाइन्छ ?

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

किरियापुत्रीहरूलाई मतदान गराउन के कस्तो व्यवस्था गरेको छ ?

मतदान अधिकृतले त्यस्ता मतदातालाई लाइनमा नबसी प्राथमिकताका साथ मतदान गराउनु पर्ने व्यवस्था छ ।

चुनाव प्रचारप्रसार दैनिक रुपमा गर्दा कुन समयभित्र गर्न पाइन्छ ?

बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म ।

प्रतिक्रिया