आइतबार, जेठ ६, २०८१

बिवाद र बहसबीच फुटबलको महाकुम्भ !

नेपालखोज २०७९ कार्तिक २९ गते १५:१६

काठमाडौं । अब ५ दिनपछि फिफा विश्वकप फुटबल प्रतियोगिता प्रारम्भ हुँदैछ । यसपटक कतारले विश्वकप प्रतियोगिताको आयोजना गर्दैछ । फिफा विश्वकप फुटबल मध्य – एसियाली देशमा आयोजना हुन लागेको यो पहिलो अवसर हो । मङ्सिर ४ गते अर्थात नोबेम्बर २० मा सुरु हुन लागेको यो विश्वकप २८ दिन चल्नेछ जसमा कुल ६४ खेल हुनेछन् भने यो प्रतियोगिताको फाइनल पुस ३ गते ( १८ डिसेम्बर ) हुनेछ

फिफा विश्वकप २०२२ मा कति राष्ट्र सहभागी हुनेछन् ?

विगत ४ वर्षदेखि २२ औं संस्करणको फिफा विश्वकपमा सहभागी हुन २१० वटा मुलुकले पहल गरिरहेका थिए । यद्यपि विश्वकपमा आयोजक राष्ट्र कतारसहित ३२ देशले मात्र सहभागिता जनाउने छन् ।कतारको टिकट काटन सफल देश : अमेरिका , मेक्सिको , क्यानाडा , क्यामरुन , मोरक्को , ट्युनिसिया , सेनेगल, घाना, उरुग्वे, इक्वेडर, अर्जेन्टिना, ब्राजिल, पोल्याण्ड, पोर्चुगल, स्विट्जरल्याण्ड, नेदरल्याण्ड , इङ्गल्याण्ड, सर्बिया, स्पेन, क्रोएसिया, बेल्जियम, फ्रान्स डेनमार्क , जर्मनी , जापान , वेल्स , साउदी अरब , दक्षिण कोरिया तथा इरान ।

२०१८ मा सम्पन्न पछिल्लो फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको थियो । रसियामा भएको उक्त प्रतियोगिताको रोमाञ्चक फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलको अन्तरले पराजित गरेको हो । त्यो फ्रान्सले विश्वकपको उपाधि जितेको दोस्रो अवसर थियोे ।

फिफाको शीर्ष वरियतामा रहेका १० मुलुक – ब्राजिल , बेल्जियम , फ्रान्स , अर्जेन्टिना इंग्ल्याण्ड , इटाली , स्पेन , पोर्चुगल, मेक्सिको तथा नेदरल्याण्ड हुन । यो बरियतामा भएको इटालिले यस पटकको छनौट चरण नै पार गर्न सकेन । फिफा विश्वकप २०२२ को तालिका यस्तो छ : सहभागी ३२ देशमध्ये ४–४ वटा देशलाई ८ वटा समूहमा विभाजन गरिएको छ ।

विश्वकपको समूह विभाजन :

समूह ‘ए’- कतार, इक्वेडर, सेनेगल तथा नेदरल्याण्ड ।

समूह ‘बी’- इंग्ल्याण्ड, इरान, अमेरिका तथा वेल्स ।

समूह ‘सी’- अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको तथा पोल्याण्ड ।

समूह ‘डी’- फ्रान्स, अष्ट्रेलिया, डेनमार्क तथा ट्युनिसिया ।

समूह ‘ई’- स्पेन, कोस्टारिका, जर्मनी तथा जापान ।

समूह ‘एफ’- बेल्जियम, क्यानडा, मोरोक्को तथा क्रोएसिया ।

समूह ‘जी’- ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड तथा क्यामरुन ।

समूह ‘एच’- पोर्चुगल, घाना, उरुग्वे तथा दक्षिण कोरिया ।

१२ दिनसम्म चल्ने समूह चरणमा हरेक दिन चार खेल हुनेछन् । प्रत्येक समूहका शीर्ष २ देश अन्तिम १६ मा पुग्नेछन् ।

कहाँ हुँदैछ खेल ?

यो प्रतियोगितामा करिब १५ लाख दर्शक सहभागी हुने आयोजकहरुको अनुमान छ । यद्यपि कतार घुम्न आउने पर्यटकका लागि १ लाख ७५ हजार कोठा मात्र छन् । सन् २०१९ मा कतारले एउटा क्रुज कम्पनीसँग सम्झौता गरेको थियो, जसमार्फत पानीमा तैरिने होटलहरू निर्माण गरिएका छन ।

यो प्रतियोगिताका लागि कतारमा ८ वटा स्टेडियम तयार गरिएको छ । यी सबै स्टेडियम एक अर्काबाट करिब एक घण्टाको ड्राइभमा छन् र बढीमा ४३ माइल टाढा छन् । यी ८ रंगशाला हुन् : लुसेल स्टेडियम (क्षमता – ८० हजार ) , अल बेट स्टेडियम (क्षमता – ६० हजार ) , स्टेडियम ९७४ (क्षमता – ४० हजार ) , खलिफा अन्तर्राष्ट्रिय स्टेडियम (क्षमता – ४५ हजार ) , एजुकेशन सिटी स्टेडियम (क्षमता – ४० हजार ) , अल थुमामा स्टेडियम (क्षमता – ४० हजार ) , अल जनुब स्टेडियम (क्षमता – ४० हजार ) तथा अहमद बिन अली स्टेडियम (क्षमता – ४० हजार ) । फिफा विश्वकप २०२२ को फाइनल खेल १८ डिसेम्बरमा लुसेल रंगशालामा हुनेछ जसको क्षमता ८० हजार छ ।

फिफा विश्वकप किन जाडोमा आयोजना हुँदैछ ?

फिफा विश्वकप फुटबल प्रतियोगिता सामान्यतया जुन – जुलाईमा आयोजीत गरिन्छ, तर कतारमा यी महिनाहरूमा औसत तापक्रम लगभग ४० डिग्री सेल्सियस हुन्छ र त्यो ५० डिग्री सेल्सियससम्म पुग्न सक्छ। यस्तो गर्मी खतरनाक हुन्छ र यस्तो अवस्थामा ९० मिनेट खेल खेल्न पनि सकिदैन । बोलपत्र प्रक्रियाका क्रममा कतारले उन्नत वातानुकूलित प्रविधि प्रयोग गर्ने वाचा गरेको थियो र भनिएको थियो – कतारले स्टेडियम तथा प्रशिक्षण पिच जस्ता ठाउँहरू २३ डिग्री सेल्सियस चिसो बनाउनेछ।

यद्यपि, २०१५ मा, फिफाले प्रतियोगिता जाडो महिनामा आयोजना गर्ने निर्णय गर्यो। नोबेम्बर २० मा सुरु हुने विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । यसको अर्थ यो धेरै देशहरूमा क्लब फुटबल सिजन सुरु हुनु हो । यद्यपि अहिले क्लब फुटबलको तालिका विश्वकपको फाइनल पछि लाई सारिएको छ।

कतार विश्वकपमा विवाद ?

कतार विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा विवादास्पद विश्वकप पनि भनिएको छ । कतारले यो विश्वकप कसरी आयोजना गर्न पायो, रंगशाला निर्माणमा खटिएका कामदारहरू प्रति कस्तो व्यवहार गरियो र के कतार विश्वकप प्रतियोगिता आयोजनका लागि उपयुक्त ठाउँ हो ? जस्ता प्रश्न बारम्बार उठिरहेका छन् । आयोजनामा ​​संलग्न ३० हजार आप्रवासी कामदारको रेखदेख तथा उपचारको ब्यबस्था लाई लिएर पनि प्रसस्त आलोचना भएको छ ।

फेब्रुअरी २०२१ मा, गार्डियन अखबारले विश्वकपको तयारिका क्रममा कतारमा भारत, पाकिस्तान, नेपाल, बंगलादेश तथा श्रीलंकाका ६,५०० आप्रवासी कामदारको मृत्यु भएको बताएको थियो। श्रम अधिकार समूह फेयरस्क्वायरले मृतकमध्ये धेरै जसो विश्वकपका पूर्वाधार परियोजनाहरूमा काम गर्नेहरु भएको बताएको छ। कतार सरकारले यसमा धेरै वर्ष देखि कतारमा काम गरेर ज्यान गुमाएकाहरू पनि समावेश भएकाले यो तथ्याङ्क गलत भएको बताएको छ । सरकारका अनुसार ती मृतक मध्ये धेरैले भवन निर्माण क्षेत्रमा काम गरेका थिएनन् । कतारले सन् २०१४ देखि २०२० सम्म विश्वकप रंगशाला निर्माणका क्रममा ३७ जनाको ज्यान गएको जनाएको छ । तीमध्ये ३४ जनाको मृत्यु कामका क्रममा भएको हो ।

कतारले फिफा विश्वकप – २०२२ को आयोजकत्व कसरी पायो ?

सन् २०१० मा फिफाले सन् २०२२ को विश्वकप कतारले आयोजना गर्ने घोषणा गरेदेखि नै यो विवादमा परेको छ । त्यतिबेला अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया र जापानजस्ता देशलाई पछाडी पार्दै कतारले आयोजकत्व हासिल गरेको थियो । यो कुरा धेरैका लागि आश्चर्यको बिषय भएको थियो र यसका लागि कतारले फिफा अधिकारीहरूलाई घूस दिएको आरोप समेत लागेको थियो ।

यद्यपि, पछि फिफाले ती आरोपहरूको स्वतन्त्र अनुसन्धान गर्‍यो, जसमा कुनै ठोस प्रमाण फेला परेन । कतारले डेलिगेट्सको भोट किनेको आरोप अस्वीकार गर्‍यो, तर फ्रान्सेली अधिकारीहरूले सुरु गरेको अनुसन्धान अझै जारी छ । सन २०२० मा अमेरिकाले फिफाका तीन जना अधिकारीले भुक्तानी प्राप्त गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया