आइतबार, जेठ ६, २०८१

कस्ता छन् विश्वकप फुटबल-२०२२ का सहभागी देश ?

नेपालखोज २०७९ कार्तिक ३० गते १४:४३

काठमाडौं । विश्व फुटबलको महामेला फिफा विश्वकप-२०२२ को सुरु हुन अब दुई साता भन्दा पनि कम समय बाँकी छ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप काउन्टडाउन उत्कर्षमा छ ।

नेपालमा महानिर्वाचन-२०७९ हुने दिन नै अर्थात मङ्सिर ४ गते आइतबार ( नोभेम्बर २० ) मा कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिता अघि युरोपका क्लब लिग खेलहरु स्थगित भैसकेका हुनेछन । डिसेम्बर १८ मा फुटबलको महामेला विश्वकप सम्पन्न भएको एक सातापछि मात्र ती लिग पुनः चालु हुनेछन् ।

सन् १९३० मा उरुग्वेबाट प्रारम्भ भएको विश्वकप फुटबलको यो २२औं संस्करण हो । पहिलो पटक एसियामा पर्ने मध्यपूर्वी क्षेत्रमा हुन लागेको विश्वकपको प्रत्यक्ष प्रशारण यसपालि नेपाली लगायत सबैजसो एसियालिहरुका लागि सहज हुनेछ । विश्वकप फुटबलको इतिहास झण्डै एक शताब्दी पुग्न लाग्दा एसिया महादेशमा भर्खर दोस्रो पटक विश्वकप आयोजना हुन लागेको छ । त्यसमा पनि मध्यपूर्वी एसियामा पहिलो पटक विश्वकप आयोजना हुँदैछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपमा पनि डेब्यू गर्दैछ ।

सन् २०१० मा फिफाले कतारलाई विश्वकप आयोजनाको अधिकार प्राप्त गरेको घोषणा गरेको थियो । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा भ्रष्टचार भएको आरोप समेत लागेको थियो । यस्तै कतारमा विश्वकपका लागि स्टेडियम निर्माण गर्दा हजारौं कामदारको निधन भएको भन्दै यसको आलोचनासमेत हुँदै आएको छ । यद्यपि यतिबेला कतार विश्वकपलाई जसरी भए पनि सफलतापूर्वक सम्पन्न गर्न लागिपरेको छ ।

फिफा विश्वकप – २०२२ को उदघाटन खेल समूह ‘ए’ मा रहेका आयोजक कतार तथा इक्वेडरबीच अल खोरस्थित अल बायत स्टेडियममा नोभेम्बर २० मा संचालन हुनेछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपका लागि विशेष तयारि गरेको छ भने यसका लागि खास रुपमा ८ वटा विशेष स्टेडियम समेत निर्माण गरेको छ ।

सहभागी राष्ट्रहरु

कतारमा विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छनोट चरण पार गरेका छानिएका हुन् । जसमा फिफाको शीर्ष वरीयतामा रहेको ब्राजिल देखि ६१ औ वरीयतामा रहेको घानासम्म छन । विश्वकपमा छनोट भएका मध्ये घाना सबैभन्दा तल्लो वरीयताको टिम हो । शीर्ष दश वरीयता भित्र रहेको इटाली भने यस पटक छनोट हुन सकेन ।

एसियाबाट ६ राष्ट्र

विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । कतार आयोजकका नाताले सिधै छनोट भएको हो भने जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । अष्ट्रेलिया अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो । अष्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । ती पाँचै टिम रुसमा अघिल्लो पटक सम्पन्न बिश्व कपमा पनि सहभागी थिए । कतारमा हुने विश्वकप – २०२२मा युरोपबाट सबैभन्दा धेरै १३ टिमले सहभागिता जनाउँदै छन् । यसैगरि अफ्रिकाबाट ५ , दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट ४-४ टिमले कतार विश्वकप खेल्नेछन् ।

सबै विश्वकप खेल्ने देस ब्राजिल

विश्वकप फुटबल भन्ने बित्तिकै ब्राजिलको संझना आउँछ । फुटबल, ब्राजिल तथा महान खेलाडी पेले पर्यावाची जस्तै भैसकेका छन् । ब्राजिलको नाममा अनौठो कीर्तिमान छ । अहिलेसम्म २१ पटक विश्वकप भएको छ र ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो । यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ । पेले तीन पटकको विश्वकप बिजेता भएका छन् । ब्राजिलले अब २२औं पटक विश्वकप खेल्दैछ । यसैगरि जर्मनीले १९ पटक विश्वकप खेलेको छ । यस्तै अर्जेन्टिनाले १७ तथा मेक्सिकोले १६ पटक विश्वपटक खेलेका छन् ।

चार पटकको च्याम्पियन इटाली छनोट भएन

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको २११ सदस्य राष्ट्र छन् । त्यसमध्ये उत्कृष्ट ३२ राष्ट्र मात्र विश्वकपमा छनोट हुन्छन् । कतार विश्वकपमा नदेखिने सबैभन्दा ‘ठूलो’ राष्ट्र इटली हो । इटालीले ब्राजिलपछि ४ पटक विश्वकपको उपाधि जितेको छ । गत वर्ष युरोकपको उपाधि जितेको इटली कतार विश्वकपमा छनोट हुन सकेन । उसले विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफमा नर्थ मेसेडोनियासँग अप्रत्यासित रुपमा हार ब्यहोरेको थियो ।

प्रतिक्रिया