मंगलबार, चैत ६, २०८०

कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’

नेपालखोज २०७९ मंसिर १० गते १३:०१

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई÷दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झैँ कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा भयो ।

यो चुनावमा केहि जिल्लामा राप्रपाले आफ्नो विगत फर्काउन सफल भयो । पाँच वर्षअघि विसं २०७४ मा नेकपा एमाले र माओवादी केन्द्र बिचको तालमेल भएको थियो । निर्वाचनमा एमाले र माओवादीको तालमेलका कारण कर्णालीका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस ‘क्लिस्वीप’ भएको थियो । तत्कालिन अवस्थामा प्रदेशसभामा हालका मुख्यमन्त्री जीवबहादुर शाही मात्र प्रत्यक्षबाट निर्वाचित भएका थिए । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गतेको नतिजा भने विगतकै जस्तो तर ठिक उल्टो आएको छ ।

यसपटकको निर्वाचनबाट पाँच वर्षअघि माओवादी केन्द्रसँग तालमेल गरेको एमाले सिङ्गो कर्णालीबाट ‘क्लिस्वीप’ हुँदा कांग्रेस भने माथि उठेको छ । माओवादी केन्द्रले जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट र रुकुमपश्चिम जितेको छ । नेपाली कांगे्रसले मुगु, दैलेख क्षेत्र नं २ र सुर्खेत क्षेत्र नं १ र २ मा विजय हासिल गरिसकेको छ । नेकपा (एकीकृत समाजवादी) लिएको डोल्पा, दैलेख क्षेत्र नं १ र सल्यानमा आफ्नो जित हात पारिसकेको छ । एमालेले भने कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्र मध्ये कतै पनि जीत हात पार्न नसक्दा शून्यमा झर्नुपरेको छ । जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले २२ हजार आठ सय १९ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेद्वार गोमा गौतम (कुँवर)ले ११ हजार नौ सय ५९ मत प्राप्त गर्नुभयो । यहाँ गठबन्धनको पराजय भएको छ ।

यसअघि नेकपा (माओवादी केन्द्र)का गजेन्द्रबहादुर महत सांसदमा निर्वाचित भएका थिए । सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेद्वार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । खड्काले ४२ हजार छ सय सात मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरे । उनले ०७४ को चुनावमा खड्कालाई पराजित गरेका थिए । सुर्खेत क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका नेता हृदयराम थानीले नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पछि पार्दै ३४ हजार छ सय २५ मतले विजयी भए । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा शक्तिबहादुर बस्नेतले ३४ हजार एक सय ५१ मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी निरजप्रसाद आचार्यले २५ हजार एक सय २० मत प्राप्त गर्नुभयो । बस्नेत चौथो पटक संंसद् प्रवेश गर्दै छन् । रुकुमपश्चिममा नेकपा माओवादीका जनार्दन शर्माले ३९ हजार पाँच सय ४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार नौ सय ६१ मत ल्याएर पराजित भए । विसं २०६४ देखि शर्माले पनि निरन्तर संसद्मा प्रवेश गर्दै आए । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी भए । त्यस्तै, दैलेख क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेद्वार अम्मरबहादुर थापाले १८ हजार दुई सय ५६ मत ल्याइ बिजयी भए ।

त्यस्तै दैलेख क्षेत्र नं २ मा गठबन्धनकै साझा उम्मेद्वार नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार एक सय ५८ मत ल्याएर विजयी भए । नेकपा एमालेको गढ मानिएको दैलखका दुवै क्षेत्रको विरासत यसपटकको लोकतान्त्रिक वाम–गठबन्धनले तोडिदिएको छ । कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २४ हजार चार सय ७४ मत प्राप्त गरी विजयी भए । विसं २०७० यताका सबै निर्वाचनबाट शाही निर्वाचित हुँदै आएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत प्राप्त ल्याएर पराजित भए । डोल्पा गठबन्धनका साझा उम्मेद्वार धनबहादुर बुढाले ११ हजार दुई सय ९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले पाँच हजार पाँच सय पाँच मत प्राप्त गरी पराजित भए ।

बुढा पनि २०७० को संविधानसभा निर्वाचनदेखि सांसदमा लगातार निर्वाचित भएका छन् । हुम्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्डुल लामा विजयी भएका छन् । रावलले नौ हजार पाँच सय १६ मत ल्याए । मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पछि पार्दै १४ हजार सात सय दुई मत ल्याएर विजयी भएका छन् । कार्कीले भने १० हजार सात सय आठ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले कर्णालीका अग्रगामी जनताको मतले अपेक्षित परिणाम प्राप्त भएको जनाए ।

नेकपा एमाले सुर्खेत क्षेत्र नं २ प्रदेश (१) बाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेलले गठबन्धनका नाममा एमालेमाथिको घेराबन्दीले कर्णालीमा एमालेका लागि अनपेक्षित नतिजा आएको प्रतिक्रिया दिए । एमालेभित्रको विभाजन र लोकतान्त्रिक वाम–गठबन्धनका कारण कर्णालीमा एमाले शून्य भएको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् । निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्लाको १० लाख ८५ हजार चार सय तीन मतदाता सङ्ख्यामध्ये छ लाख ६२ हजार ९५ (६१ प्रतिशत)ले मतदान गरेका थिए ।

प्रतिक्रिया