आइतबार हुने चुनावका लागि सुरू भयाे स्थिर समय

काठमाडौं । मंसिर ४ अर्थात पर्सि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि स्थिर समय सुरू भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि स्थिर समय सुरु हुने व्यवस्थाअनुसार स्थिर समय सुरू भएकाे हाे ।
निर्वाचन आयोगले स्थिर अवधिमा चुनावी प्रचारप्रसार गरे दल तथा उम्मेद्वारलाई २५ हजार रुपैयाँ जरिवाना गराउने चेतावनी दिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) अनुसार कसैले पनि स्थिर समयभर कुनै उम्मेद्वार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन ।
आयोगले स्थिर समयमा राजनीतिक दल वा उम्मेद्वारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्न रोक लगाएको छ ।

प्रतिक्रिया